पत्रकारलाई भिडियो खिच्न रोक लगाएका मोरङ सिडियोले मागे माफी

मंगलबार, १७ भदौ २०८२

सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचा–७ स्थित गछिया खोलामा निर्माण गर्न लागिएको क्रसरको अनुगमनका क्रममा आइतबार पत्रकारहरुलाई भिडियो खिच्न रोक लगाउने कार्य गरेपछि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवले माफी मागेका छन्।

पत्रकारहरुलाई रोक लगाएको विषयले चौतर्फी आलोचना पाएपछि प्रजिअ यादवले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमा नेपाल पत्रकार महासंघ मोरङसहित छलफलमा सहभागी भएर गल्ती स्वीकार्दै माफी मागेका हुन्।

छलफलमा प्रजिअ यादवले स्पष्ट पारे, “मैले नियतवश होइन, भूलबस यस्तो कार्य गरेको हुँ। आगामी दिनमा यस प्रकारका त्रुटी नदोहोर्याउने प्रतिवद्धता गर्दछु।” यसपछि नेपाल पत्रकार महासंघ मोरङले घटनालाई अघि बढाउने आवश्यकता नरहेको निष्कर्ष निकालेको छ।

नेपाल पत्रकार महासंघ मोरङका सहसचिव रेवतीरमण निरौलाले जानकारी दिनुभयो, “प्रजिअ यादव पत्रकारहरुलाई सहज रुपमा सूचना उपलब्ध गराउँदै सहयोग गर्ने व्यक्ति भएकाले आइतबार भएको भूलबसलाई मानवीय त्रुटीको रूपमा क्षमा गरिएको हो।”

छलफलमा पत्रकारको तर्फबाट नेपाल पत्रकार महासंघ नेपालका केन्द्रीय सदस्य कमल रिमाल, मोरङका अध्यक्ष सुशीला पाठक, पूर्वअध्यक्ष महेन्द्र विष्ट, उपाध्यक्ष सन्तोष सिग्देल, सचिव नेत्र पी अधिकारी, सहसचिवद्वय रेवतीरमण निरौला र श्यामसुन्दर सुतिहार, कोषाध्यक्ष कौशल निरौला, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सुमन सुस्केरा, मोरङ अध्यक्ष चिना थापा र सहसचिव कृष्णचन्द्र सुवेदीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार