काठमाडौँ : जेनजी आन्दोलनमा राज्य संयन्त्रले गरेको नरसंहारको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
प्रहरीको चरम दमनका कारण युवा विद्यार्थीको ज्यान जान थालेपछि लेखकले पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराएर नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।
जटिल राजनीतिक र सुरक्षा अवस्थाका कारण तत्काल राजीनामा नदिन सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले सुझाए पनि उनले नैतिकताका आधारमा पदमा नबस्ने भन्दै राजीनामा दिएको बताएका हुन् ।
भिजिट भिसा प्रकरणसँग जोडेर रास्वपा र राप्रपाले गृहमन्त्री लेखकको राजीनामा मागिरहेका छन् । राजीनामा माग्दै लामो समयदेखि संसद् अवरोध भइरहे पनि लेखक टसमस थिएनन् । तर, जेनजी आन्दोलन सुरक्षा नियन्त्रणभन्दा बाहिर गएपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।
सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पनि गृहमन्त्री लेखकले प्रदर्शनमा ठुलो मानवीय क्षति भएकाले त्यसको नैतिक जिम्मेवारी लिएर राजीनामा दिने बताएको बैठकमा सहभागी एक नेताले बताए ।
गगन थापालाई गृहमन्त्री बनाउने तयारी
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए लगत्तै काँग्रेसले महामन्त्री गगनकुमार थापालाई गृहमन्त्रीमा अघि सार्ने भएको छ ।
काँग्रेस उच्च स्रोतका अनुसार गगनलाई मङ्गलवार नै गृहमन्त्रीका रूपमा शपथ गराउने तयारी छ । तर, थापाले भने सरकारमा जानुअघि सामाजिक सञ्जालमाथि कानुन नबनाई निष्क्रिय बनाउनेगरी गरिएको निर्णय सच्याउनुपर्ने लगायतका सर्त सभापति देउवासँग राखेका छन् ।
गगन र अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताको दबाबपछि सभापति देउवाले प्रधानमन्त्री ओलीलाई फोन नै गरेर सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयबाट तत्कालका लागि पछि हट्न भनेका थिए ।
प्रतिक्रिया