भावी प्रधानमन्त्रीको विकल्पमा सुशीला कार्कीको नाम अगाडि

विहीबार, २६ भदौ २०८२

काठमाडौं। जेन–जी आन्दोलनले देशमा पहिलो महिला प्रधानमन्त्री बन्न सक्ने सम्भावना बलियो बन्दै गएको छ। बुधबार बसेको जेन-जी समूहको वृहद् भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीका लागि सबैभन्दा बढी लोकप्रिय उम्मेदवारको रुपमा पूर्वप्रधान न्यायाधीशसमेत रहेकी सुशीला कार्कीलाई देखाइएको छ।

बैठकमा प्रारम्भमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई प्रधानमन्त्रीको कुर्सीमा राख्ने प्रस्ताव आएको थियो, तर बालेन साहले फोन रेस्पोन्स नगरेका कारण साहको नाममाथि छलफल हुन सकेन।

बैठकमा सबैभन्दा बढी भोट सुशीलालाई मिलेको जेन-जी अगुवाहरुले बताएका छन्। यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आगामी सरकारको नेतृत्वमा सुशीला कार्कीलाई समर्थन गरेका छन्।

बुधबार राति सामाजिक संजालमार्फत उनले कार्कीलाई समर्थन जनाउँदै राष्ट्रपति रामचन्द्र पौडेलाई अन्तरिम सरकार गठन गर्न र संसद् विघटन गर्न सुझाव दिएका छन्।

बालेनले अहिलेको विषम परिस्थितिमा धैर्य र संयम राख्न जेन–जी पुस्तालाई आग्रह गर्दै, अब बन्ने अन्तरिम सरकारको मुख्य काम चुनाव गराएर देशलाई नयाँ जनादेश दिनु रहेको बताएका छन्।

सुशीला कार्कीले प्रधानन्यायाधीश पदमा रहँदा निस्पक्ष र सन्तुलित भूमिका निर्वाह गरेकी थिइन्।

कानूनी पृष्ठभूमि, राजनीतिक सुझबुझ तथा परिपक्वताका कारण धेरै युवाहरुको रोजाइमा परेकी हुन्। उनी नेपालको सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश पनि हुन्।

कार्कीको जन्म २००९ जेठ २५ गते शङ्खरपुर-३ विराटनगरमा भएको हो। उनले महेन्द्र मोरङ कलेज विराटनगरबाट २०२८ मा बिए र वनारस हिन्दु विश्वविद्यालयबाट २०३१ मा राजनीतिशास्त्रमा एमए गरेकी छन्।

विसं २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि कानुनी क्षेत्रमा उनको यात्रा अघि बढेको हो।

अधिवक्ता भएर कार्कीले २०३५ चैत १६ गतेदेखि काम सुरु गरेकी थिइन्। उनले तीन वर्ष (२०४२–२०४६) महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरेकी थिइन्। २०४५ देखि २०४७ सम्म कार्की कोशी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष भइन्।

२०६१ पुस ५ गते वरिष्ठ अधिवक्ता बनेकी कार्की २०६५ माघ ९ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी थिइन् भने २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनेकी थिइन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार