काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको राजनीतिक संकट १४ महिना अघि बनेको असंवैधानिक गठबन्धनकै परिणाम भएको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले कांग्रेस र एमालेले सुशासनको डरले मध्यरातमा सुरु गरेको गठबन्धन अब पतनको चरणमा पुगेको दाबी गरे ।
उनले भने– “१४ महिना अघिको गठबन्धन असंवैधानिक थियो, आज त्यसको परिणाम देखियो।” भ्रष्टाचारविरुद्ध, सुशासन र सामाजिक न्यायका पक्षमा आफूले नेतृत्व गरेको सरकारले चालेका कदमलाई विफल पार्न स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएको कारण जनताको आक्रोश चरम अवस्थामा पुगेको उनको भनाइ छ ।
जेनजी पुस्ताका युवाहरूले सुरु गरेको आन्दोलनलाई सरकारले कुल्चन खोज्दा भयानक नरसंहार मच्चाएको आरोप लगाउँदै प्रचण्डले सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने निर्णयदेखि आन्दोलनमाथि गरिएको बर्बर दमनलाई असंवैधानिक कदम भने । उनले भने– “सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सुरु गरेको आन्दोलन सही थियो तर त्यसलाई सरकारले पहिलो दिनमै नरसंहारको रुप दियो।”
प्रचण्डले विश्वासको मत लिने क्रममा नै संसद्को रोष्टमबाट यस प्रकारको गठबन्धन असंवैधानिक र अप्राकृतिक भएको चेतावनी दिएको स्मरण पनि गराए । उनले सरकारलाई बारम्बार आत्मसमीक्षा गर्दै सुधार गर्न आग्रह गरे पनि कुशासन र भ्रष्टाचारको शृङ्खला जारी रहँदा जनतामा वितृष्णा फैलिएको टिप्पणी गरे ।
प्रतिक्रिया