पत्रकारद्वारा जिल्ला प्रशासन मोरङको सरसफाइ, पाल टाँगेर सेवा दिने

शनिबार, २८ भदौ २०८२

विराटनगर : नेपाल पत्रकार महासङ्घ मोरङको अगुवाइमा विराटनगर महानगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालयको सरसफाइ गरिएको छ । महासङ्घको नेतृत्वमा कार्यालय पुगेका दुई दर्जन बढी पत्रकारले आज बिहान कार्यालय परिसरभित्र र बाहिर सरसफाइ गरेका हुन् । 

 ‘जेनजी’ प्रदर्शनका क्रममा देशैभर सरकारी कार्यालयमा तोडफोड र आगजनीका घटना भएका थिए । जिल्ला प्रशासन कार्यालयमा पनि तोडफोड गर्नुका साथै आगो लगाइएको थियो । आगोबाट कार्यालयका सम्पूर्ण भौतिक संरचना र कागजात जलेर नष्ट भएका छन् । कार्यालय कोठा र परिसरभरि जलेका सामग्रीका राख थुप्रिएका थिए । आज पत्रकारले राख र अन्य फोहरको उचित स्थानमा व्यवस्थापन गर्दै कार्यालयलाई सफा गरेका हुन् । 

जिल्लास्थित नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुशीला पाठकले शान्तिसुरक्षा कायम गर्ने÷गराउने जिल्ला प्रशासन कार्यालयजस्तो संवेदनशील संस्थाबाट सहज रूपमा सेवा प्रवाहमा सहयोग पु¥याउने उद्देश्यले का लागि पत्रकारहरूले कार्यालय परिसरको सरसफाइ गरेको बताइन् । 

नेपाल पत्रकार महासङ्घ कोशीका उपाध्यक्ष कुमोद अधिकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यालयको सरसफाइ गरिएको बताए । 

यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले आइतबारदेखि कार्यालय परिसरभित्र अस्थायी संरचनाको निर्माण गरी पाल टाँगेर काम कारबाही अघि बढाउने निर्णय गरेको छ । 
    
तोडफोड र आगजनीबाट जिल्ला प्रशासन कार्यालयका भौतिक संरचना र सम्पूर्ण दस्तावेज जलेर नष्ट भएका छन् । साथै कार्यालयमा कर्मचारीलाई बस्ने ठाउँ पनि अभाव छ । 

तोडफोड र आगजनीको घटनापछि जिल्ला प्रशासन कार्यालयबाट सेवा अवरुद्ध भएको थियो । अस्थायी संरचना निर्माण गरेर भए पनि आइतबारदेखि आंशिक सेवा प्रवाह गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आइतबारदेखि मोरङ प्रशासनका काम कारबाहीलाई अघि बढाउने बताए । 

प्रजिअ यादवले कार्यालयको कोठाभित्र बसेर काम गर्नका लागि टेबल, कुर्सी, कम्प्युटर र अन्य सामग्री केही पनि नभएको भन्दै तत्काल आंशिक रूपमा सेवा प्रवाह गर्ने तयारी भएको जानकारी दिए । 
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार