इटहरी : जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीले इटहरी उपमहानगरपालिकामा ठूलो भौतिक क्षति पुर्याए पनि नगर बस भने जोगिएका छन् ।
उपमहानगरपालिकाका मेसिनरी औजार व्यवस्थापन शाखा प्रमुख गणेश भट्टराईका अनुसार तालतलैया रोडस्थित ग्यारेजभित्र चारवटै नगर बस सुरक्षित अवस्थामा रहेका थिए ।
आन्दोलन चर्किएको भदौ २३ गते बिहान केही घण्टा सडकमा सञ्चालन भएपनि दिउँसो चार्जका लागि राखिएका कारण बस पुनः सडकमा आउन सकेनन् ।
सो दिन उपमहानगरको पुरानो भवनभित्रका जिन्सी तथा राजस्व शाखामा प्रदर्शनकारीले तोडफोड गर्दा ठूलो क्षति पुगेको थियो ।
मेयर हेमकर्ण पौडेलको कार्यकक्षमा समेत आगजनी गरिएको थियो । भोलिपल्ट आन्दोलन नदोहरिने अनुमान भए पनि नगर बसलाई सुरक्षाको कारणले ग्यारेजमै राखिएको थियो ।
नगर बस जोगिनु इटहरीवासीका लागि राहत बनेको छ । गत वर्ष असोज २ गतेदेखि सुरु गरिएको विद्युतीय नगर बस सेवा कम भाडादर (२० रुपैयाँ) मा सञ्चालन हुँदै आएको थियो ।
यसले विद्यार्थी, श्रमिकदेखि ज्येष्ठ नागरिकसम्मलाई सहज र सुरक्षित यातायात सुविधा दिएको थियो ।
धरान–विराटनगर, तालतलैया, पकली, आँपगाछी, लबीपुरलगायत विभिन्न रुटमा सञ्चालन हुँदै आएका यी बसलाई आधुनिक र व्यवस्थित शहरी यातायातको प्रारम्भिक आधारका रूपमा नागरिकले लिएका छन् ।
यद्यपि, नगर बस खरिदमा ६ करोड भन्दा बढी खर्च भएको र त्यसमा आर्थिक अनियमितताको आरोप समेत लाग्दै आएको छ । तर, आन्दोलनका बेला नगरका संरचना र दमकलसहित थुप्रै सरकारी सवारी साधनमा क्षति पुगे पनि बस जोगिनु स्थानीयका लागि सकारात्मक बनेको छ ।
प्रतिक्रिया