पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको बैठक विहीबार(आज)मुख्यमन्त्री तथा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकको सुरुमा भदौ २३ गते जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त युवाहरू, सुरक्षाकर्मीहरू तथा दिवंगत सम्पूर्ण नेपालीहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
बैठकले हालैको जेनजी आन्दोलन, त्यसपछिको घटनाक्रम तथा प्रदेश सरकारको भूमिकाबारे चर्चा गर्दै नौं बुँदे निर्णय सार्वजनिक गरेको छ ।
बैठकले भदौ २३ गतेको आन्दोलनमा सहादत प्राप्त भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
साथै, आन्दोलनका क्रममा भएका ज्यादती र ध्वंसात्मक गतिविधिहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष न्यायिक छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ ।
कांग्रेसले जेनजी पुस्ताले उठाएका सामाजिक सञ्जालमाथिको नियन्त्रण, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति जस्ता मुद्दाप्रति प्रतिबद्धता जनाउँदै गण्डकी प्रदेश सरकारले चालु खर्च कटौती, दरबन्दी कटौती र कार्यालय समायोजनजस्ता सुशासनमुखी कार्यहरू अघि सारेकोमा प्रशंसा जनाएको छ ।
बैठकले नेपालको संविधान नै मुलुकको समृद्धिको आधार भएको भन्दै संविधानको रक्षा र सुदृढीकरणप्रति प्रतिबद्धता जनाएको छ । यसै सन्दर्भमा विषम परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाह गरेको अभिभावकत्वप्रति संसदीय दलले आभार व्यक्त गरेको छ ।
बैठकले मुलुकमा रोजगारी सिर्जना तथा अर्थतन्त्र सुदृढ गर्न योगदान दिँदै आएको निजी क्षेत्रमाथि भएको आक्रमणको भत्र्सना गर्दै लगानीमैत्री वातावरण पुनःस्थापनाका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयात्मक पहल गर्न आग्रह गरेको छ ।
त्यस्तै, आन्दोलनका क्रममा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरू र आम नागरिकमाथि भएको आक्रमणको पनि घोर भत्र्सना गर्दै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
गण्डकी प्रदेशभित्र आन्दोलनका कारण सार्वजनिक तथा निजी भौतिक संरचनामा भएको क्षतिको यकिन विवरण संकलन गरी पुनर्निर्माणको योजना अघि बढाउन प्रदेश सरकारलाई आग्रह गरिएको छ ।
साथै, अत्यावश्यक सेवा प्रवाह गर्ने संरचनाहरूको पुनर्निर्माणका लागि ‘पुनर्निर्माण कोष’ स्थापना गर्न समेत आग्रह गरिएको छ। नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले उक्त कोषमा रु. १० लाख योगदान दिने निर्णयसमेत गरेको छ ।
बैठकले हालको विषम परिस्थितिमा सबै राजनीतिक दल, नागरिक समाज र युवापुस्तालाई धैर्य रहन र लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप एकताबद्ध हुन अपिल गरेको छ ।
प्रतिक्रिया