बागमती : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेनजी प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति उहाँले दुःख व्यक्त गरे ।
हेटौँडास्थित बागमती प्रदेश सरकारका मन्त्रालय तथा विभिन्न कार्यालयमा गरिएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त संरचनाको आज निरीक्षण गर्दै मुख्यमन्त्री बानियाँले नष्ट भएका संरचना सफा गरेर नागरिकलाई सेवाप्रवाह गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
“प्रदर्शनका क्रममा जनधनको क्षति हुनु, सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी हुनु दुःखद् छ”, उनले भने, “प्रदर्शनका क्रममा यस्ता घटना नहुनुपर्ने थियो ।” क्षतिग्रस्त संरचनाको सरसफाइ गरेर शीघ्र सेवा प्रवाह गरिने उहाँले विश्वास दिलाए ।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भौतिक पूर्वाधार मन्त्रालयलगायत क्षतिग्रस्त संरचनाको निरीक्षण गरेका थिए ।
प्रदर्शनकारीले प्रदेशसभा सचिवालय भवन, भौतिक पूर्वाधार विकास मन्त्रालयसहित प्रदेशका नौ वटा मन्त्रालय, ती मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए ।
प्रतिक्रिया