इलाम– पूर्वी नेपालको सानो गाउँपालिका माइजोगमाई अब केवल चियाबारी, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतिका लागि मात्र महत्वपूर्ण छैन। खेलकुद र विशेषगरी फुटबलमा पनि यो गाउँपालिका चिनिँदैछ।
यही गाउँपालिकाबाट उदाएको रेड डेभिल्स फुटबल क्लब पछिल्लो समय देश–विदेशमा आफ्नो पहिचान बनाउँदै अघि बढिरहेको छ। जहाँ फुटबल प्रतियोगिता हुन्छ, त्यहाँ रेड डेभिल्सको उपस्थिति अनिवार्यजस्तै बनेको छ। स्थानीय, जिल्ला, प्रदेश, राष्ट्रिय र अहिले अन्तर्राष्ट्रियस्तरसम्म निरन्तर आमन्त्रण प्राप्त गर्दै आएको यो क्लब सबै ठाउँमा चर्चाको शिखरमा पुगेको छ।
क्लबको यात्राः स्थानीय स्तरदेखि अन्तर्राष्ट्रिय चासोसम्म
रेड डेभिल्सको सुरुआत गाउँकै उत्साही युवाको जोस र सपनाबाट भएको हो। सुरुआती दिनमा गाउँ–गाउँका युवा प्रतियोगितामा भाग लिँदै अघि बढेको यो क्लब अब प्रमुख राष्ट्रिय लिगदेखि छिमेकी देश भारतसम्म आफूले उत्पादन गरेका खेलाडीलाई खेलाउन र चिनाउन सफल भएको छ। केही समयअघि क्लबले ताप्लेजुङ गोल्डकपजस्तो चर्चित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी सबैको ध्यान तानेको थियो। त्यसयता क्लबको चर्चा झन् बढेको हो। लगातार प्रदर्शन सुधार्दै आएको क्लबलाई झापा होक्से च्यालेन्ज कपमा आमन्त्रित गरिएको छ भने भारतको लोदोमास्थित राईजिङ स्टार फुटबल क्लबले समेत रेड डेभिल्सलाई विशेष आमन्त्रण दिएको छ।
क्लबको सम्पत्ति ः बलियो टोली, अनुभवी खेलाडी र सामूहिक भावना
रेड डेभिल्सको सफलताका पछाडि अनुशासित व्यवस्थापन, खेलाडीबीचको एकता र निरन्तर अभ्यास मुख्य कारण हुन्। क्लबमा यस्ता खेलाडी छन्, जसले बी डिभिजन राष्ट्रिय लिग, प्रदेश लिग तथा अन्य प्रतिष्ठित प्रतियोगितामा अनुभव हासिल गरिसकेका छन्। क्लब अध्यक्ष सन्देश लिम्बू भन्छन्, ‘हामीसँग खेलको अनुभव मात्र नभई गाउँको प्रतिनिधित्व गर्ने जिम्मेवारी पनि छ। हामी जहाँ जान्छौं, माइजोगमाईको नाम, संस्कृति र गौरव बोकेर जान्छौं।’
लिम्बूका अनुसार क्लबका अधिकतर खेलाडी सुरुदेखि नै एउटै टिममा खेल्दै आएका छन्। त्यसैले उनीहरूबीचको समन्वय, समझदारी र मैदानभित्रको तालमेल सशक्त छ। यिनै सामर्थ्यका कारण क्लबले कठिन प्रतिस्पर्धामा पनि उत्कृष्ट प्रदर्शन गर्न सकेको हो।
खेलमार्फत् पर्यटन र पहिचान प्रवर्द्धनमा टेवा
रेड डेभिल्सको सफलताले माइजोगमाईको नाम फुटबल मात्र होइन, पर्यटन प्रवर्द्धनमा पनि पुगिरहेको छ। लिम्बू भन्छन्, ‘हामी जहाँ जान्छौं, माइजोगमाईको बारेमा धेरैलाई जानकारी दिन्छौं। हाम्रो क्लबको नाम सुन्दा नै धेरैलाई गाउँको बारेमा चासो लाग्छ।’ यसले ग्रामीण क्षेत्रबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सकिने उदाहरण प्रस्तुत गरेको छ।
रेड डेभिल्स युवाका लागि ठूलो प्रेरणाको स्रोत बनेको छ। गाउँका बुबाआमा आफ्ना छोराछोरीलाई टिभीमा मात्र नभई आफ्नै क्लबका खेलाडी राष्ट्रिय खेल खेलिरहेको देखाउने अवसर पाएका छन्। क्लबले स्थानीय स्तरमै ट्रेनिङ क्याम्प, बालक र बालिकाका लागि अभ्यास कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ, जसले भविष्यमा माइजोगमाईबाट अझ धेरै प्रतिभाशाली खेलाडी उत्पादन हुने आशा जगाएको छ।
क्लबलाई स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रबाट लगानी र समर्थन आवश्यक छ। फुटबल केवल खेलमात्र नभई सामाजिक रुपान्तरण, युवा सशक्तीकरण र आर्थिक विकासको माध्यम बन्न सक्छ।
रेड डेभिल्स फुटबल क्लब माइजोगमाईको मात्र नभई सिंगो इलाम र पूर्वी नेपालकै गौरव बन्दैछ। युवा ऊर्जा, नेतृत्वको स्पष्टता, समर्पण र सामाजिक उत्तरदायित्वका कारण यो क्लबले स्थानीयस्तरमा मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय मैदानमा पनि आफ्नो ठाउँ बनाउँदैछ।
प्रतिक्रिया