झापा : झापाको दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपमा विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौँले सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
खेलको सुरुवातदेखि नै आक्रामक बनेको एपिएफले सविता राना मगरको गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि अनिता बस्नेतले लगातार दुई गोल गरिन् भने रश्मिकुमारी घिसिङले ह्याट्रिक पूरा गर्दै टोलीको जित सुनिश्चित गरिन्।
अनिता केसीले थप दुई गोल गर्दै स्कोर फराकिलो बनाइन्। सिंग्लिङकी सुक्रिया मगरले पाएका अवसरहरू गोलमा परिणत गर्न नसक्दा सिक्किम टोली खेलभर दबाबमा रह्यो।
एपिएफका प्रशिक्षक जिबेश पाण्डेले टोलीले योजनाअनुसार खेल खेलेको बताए भने सिक्किमकी प्रशिक्षक लाकु फुर्बी भुटियाले हारलाई “सिकाइको अवसर”का रूपमा लिएको प्रतिक्रिया दिइन्।
ह्याट्रिक हिरो रश्मि घिसिङ खेलकी प्लेयर अफ द म्याच घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्।
भोलि हुने तेस्रो क्वार्टरफाइनलमा संकटा फुटबल क्लब काठमाडौँ र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ।
गोल्डकपका अध्यक्ष सन्तोष थोप्राका अनुसार विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ र उत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा नेपालका सात र भारतको एक गरी आठ टोली प्रतिस्पर्धामा छन्।
प्रतिक्रिया