काठमाडौँ :नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानलाई जनताले पटक–पटक गरेको क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।
संविधान दिवसका अवसरमा शुक्रवार शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रको स्थापना र पुनः स्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति र जनआन्दोलनको परिणामस्वरूप संविधानसभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको स्मरण गराए।
देउवाले ज्ञात–अज्ञात सहिदहरूको बलिदान र समर्पणलाई उच्च कदर गर्दै संविधान दिवसको दिनमा श्रद्धाञ्जली अर्पण गरे। उनले यो संविधानले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबै नागरिकका हक र अधिकारलाई सुनिश्चित गरेको उल्लेख गरे।
उनका अनुसार संविधान जारी भएको एक दशक पूरा भएको ऐतिहासिक दिनलाई सबैले गौरवपूर्वक स्मरण गर्दै हरेक वर्ष स्वतन्त्रता, समानता र अधिकारको भावना सहित संविधान दिवस मनाउनुपर्ने आवश्यकता छ।
सभापति देउवाले बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्था कायम राख्न योगदान गर्ने महान् सपुतहरूको बलिदानलाई सम्मान गर्दै सम्पूर्ण नेपालीलाई संविधान दिवसको शुभकामना व्यक्त गरेका छन्।
प्रतिक्रिया