सामान्यतया विधायकले विकास निर्माणमा आफ्नो भूमिका खोज्नु र जनतालाई सोही अनुसारको आश्वासन दिनु नै विधायकको भूमिका विपरीत रहेको गुनासोहरु आउने गर्छन् । त्यसमा सांसद थापा भन्छन् ‘हामी विधिको निर्माणको लागि संसद जान लागेको सहि हो । तर प्रदेश र स्थानीय तहले गर्न नसक्ने ठूला आयोजनामा सरकारलाई ध्यानाकर्षण गराउने र दुईतहको सरकारबीच समन्वय गरेर काम गर्ने भूमिकालाई पनि हामीले भुल्दैनौं । हाम्रो परिकल्पनाको भक्तपुर निर्माण गर्ने अभियानमा हामी तीनै तहको सरकारसँग समन्वय गरेर अघि बढ्छौं ।’
सवारी चापको व्यवस्थापन गर्न हनुमन्ते, मनोहरा जस्ता कोरिडोरको रोकिएको कामलाई तीब्रता दिने, राधेराधेमा वर्षाैंदेखि खण्डहर बनेको व्यावसायिक संरचनालाई कानुनी प्रक्रिया पूरा गरेर सञ्चालन गर्दै युवालाई व्यवसाय वा रोजगारीमा अवसर दिने, संविधानले तोकेका तीनै तहको सरकारको जिम्मेवारीमा एक अर्काले हस्तक्षेप नगरी समन्वय गरी जनताले अनुभूति गर्नेगरी विकासका कामहरु अघि बढाउने विषयमा सबै सांसदहरुले हातेमालो गर्ने बताएका छन् ।
त्यस्तै, भक्तपुर क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेशसभा सांसद किरण थापामगरले यो कार्यकालमा क्षेत्रको विकास र बन्न नसकेका कानुनको निर्माणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे । वाग्मती प्रदेशमा ८४ वटाभन्दा धेरै कानुन बनाउनुपर्नेमा अघिल्लो कार्यकालमा ३८ वटा मात्रै कानुन बनेको भन्दै ती अधुरा कामहरु यो कार्यकालमा पूरा हुने बताए ।
मुलुक संघीय संरचनामा गएर तीन तहको सरकारको अवधारणामा जाँदै गर्दा अघिल्ला कार्यकालमा वडाध्यक्षले गर्ने काममा पनि संघीय सांसद अघि सर्ने गरेको गुनासाहरु आएका थिए । यसले संघीयतालाई नै कमजोर बनाउने चिन्ता विश्लेषकहरुको थियो । अबको पाँच वर्ष संघीयता कार्यान्वयनमा लाग्दै प्रदेश र स्थानीय तहको काममा हस्तक्षेप नगरी उनीहरुलाई समेत साथमा लिएर एकीकृत रुपमा भक्तपुरको विकासमा लागि पर्ने प्रतिबद्धता सबै तहका जनप्रतिनिधिहरुले गरेका छन् ।
कार्यक्रममा सांसद थापाका अतिरिक्त भक्तपुर क्षेत्र नं २(क)का सांसद किरण थापामगर, भक्तपुर क्षेत्र नं २ (ख)का सांसद डा. राजेन्द्रमान श्रेष्ठ, भक्तपुर क्षेत्र नं १(क) का सांसद सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री लगायतको उपस्थिति रहेको थियो । सबै जनप्रतिनिधिहरुले आफूहरु संघीय सांसद थापाले अघि सारेको योजना अनुसार भक्तपुरको विकासमा हातेमालो गरेर अघि बढ्न तयार रहेको बताएका छन् ।
प्रतिक्रिया