झापा : गत २४ भदौको बिहान झापाको अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय गोपाल सेढाईं घरायसी दैनिकी सकेर बिर्तामोड जाने तयारीमा थिए ।
७६ वर्षीया आमा गुनमायाले सोधिन्, ‘कता हिँड्न लागेको कान्छा ?’ गोपालले छोटकरी जवाफ दिए, ‘बिर्तामोड जाँदै छु आमा, रक्तदान कार्यक्रम छ ।’ त्यो संवाद आमा–छोराबिचको अन्तिम बन्न पुग्यो ।
बिर्तामोड पुगेपछि गोपालले बीएण्डसी हस्पिटल परिसरमा आयोजित रक्तदान कार्यक्रममा सक्रियता देखाए । दर्जनौँ युवालाई रक्तदान गर्न प्रेरित र सहजीकरण गरेपछि उनी जेनजी प्रदर्शनतर्फ लागे ।
अपराह्न ४ बजेतिर प्रहरीको गोली लागेपछि सय मिटर टाढै रहेको सोही अस्पतालमा पुर्याइए पनि छातीमा गोली छेडिएकै कारण तत्कालै उनको निधन भयो ।
गोपाल परिवारको कान्छो छोरा मात्रै होइन, वृद्ध आमाबुबाको सहारा पनि थिए । दाजु–भाउजू वैदेशिक रोजगारीका लागि दुबईमा बस्दै आएका छन् । तीन दिदीको विवाह भइसकेको छ । बुबा धनपति र आमा गुनमायाको स्याहारसुसार गर्दै घरधन्दाको जिम्मेवारी उनकै काँधमा थियो ।
दिदी तुलसा सेढाईंका अनुसार सो दिन बिहान गोपालले नियमित योग शिविरमा प्रशिक्षण दिए । त्यसपछि उनले गोठमा गाई दुहे । बिरामी बुवालाई शनिश्चरे अस्पताल लगेर उपचार गराए । आमासँगै दही–चिउरा खाएर उनी बिर्तामोडतर्फ लागे ।
‘आमाबुबाको हेरचाहमा उहाँको ध्यान असाधारण थियो । टाढा गए पनि छिट्टै घर फर्किन्थे । तर अब त कहिल्यै नफर्कने भए,’ तुलसा आँखाभरि आँसु पार्दै सम्झिन्छिन् ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका गोपाल गाउँका परिचित योग प्रशिक्षक, स्वयंसेवी रक्तदाता र सामाजिक अभियन्ता थिए ।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले भने, ‘कोही कसैलाई रगतको अभाव छ भन्ने थाहा पाउने बित्तिकै उहाँ आफैँ रक्तदान गर्नुहुन्थ्यो वा दाता खोजेर ल्याउनुहुन्थ्यो । शिक्षित, होनहार र संवेदनशील युवा गुमायौँ ।’
गोपाल अविवाहित थिए । उनको विवाहको कुरा घरमा चल्दै थियो । काठमाडौँमा भदौ २३ गते प्रहरीको गोली लागेर युवा आन्दोलनकारी जेनजीको मृत्यु भएपछि उनी निकै विक्षिप्त भएको दिदी तुलसाले बताइन् ।
‘अन्याय र अत्याचार उनलाई सह्य थिएन । जेनजीको निधनको खबर सुनेपछि रोइरहेका थिए । अन्ततः त्यही आन्दोलनमै उनी पनि सहिद भए,’ उनले भनिन् ।
समाजसेवामा सक्रिय भए पनि गोपाल पेसाले मिहिनेती किसान र नर्सरी व्यवसायी थिए । डेढ बिघा जग्गामा विभिन्न बिरुवाको नर्सरी सञ्चालन गर्दै पशुपालनमा रुचि देखाए । गाई दुहुनेदेखि गोबर सोहोर्ने कामसम्म आफ्नै हातले गर्थे । बारीमा सुपारी र मरिचको बगान लगाउने सपना थियो । तर, त्यो सपना अधुरै रह्यो ।
गोपालको निधनले अर्जुनधारा मात्र होइन, सम्पूर्ण झापा शोकमग्न छ । वृद्ध आमाबुबाको सहारा, गाउँको सक्रिय अभियन्ता र शिक्षित समाजसेवी युवा असमयमै गुमाउँदा गाउँलेहरू पीडित र आक्रोशित बनेका छन् ।
प्रतिक्रिया