काँग्रेसमा पूर्ण, एमालेमा अष्ट र माओवादीमा पम्फालाई अघोषित कार्यभार

गगन–विश्वको विशेष महाधिवेशनको प्रस्ताव तुहियो

शनिबार, ०४ असोज २०८२

काठमाडौँ : नेकपा एमालेको मुख्यालय च्यासलमा शुक्रवार संविधान दिवस मनाउँदा फरक दृश्य देखियो । सेनाको ब्यारेकबाट फर्किए पनि पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यक्रममा अनुपस्थित रहे ।

पार्टी अध्यक्ष नहुँदा वरिष्ठ उपाध्यक्षले स्वतः नेतृत्व लिनुपर्ने हो । तर ईश्वर पोखरेललाई पाखा लगाएर उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई अघि सारियो । शाक्यको नेतृत्व झल्किने गरी पहिलो औपचारिक कार्यक्रम गरेर पार्टी संस्थापनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहलाई प्रस्ट सन्देश दिएको छ । 

संस्थापन पक्षले ईश्वर पोखरेललाई पाखा लगाएर उनको अस्तित्व स्वीकार नचाहेको सन्देश दिएको स्थायी कमिटी सदस्य कर्ण थापा बताउँछन् । ‘पार्टीलाई नियमानुसार अघि बढाउन नखोजेको देखियो,’ उनले भने, ‘यो स्थिति आइसक्दासमेत मूल नेतृत्वको वरिपरि घुम्नेहरूले वैधानिक हिसाबमा आउने वरिष्ठ उपाध्यक्षलाई निषेध गर्न खोजेको छ ।’  

अध्यक्ष ओली अनुपस्थित हुनु र वरीयता मिचेर शाक्यको अध्यक्षतामा कार्यक्रम गरेर एमाले संस्थापनले अघोषित रूपमा परिआए विकल्पमा शाक्यलाई अघि सार्ने सन्देश दिएको छ । तर तत्कालै नेतृत्व हस्तान्तरण भने गर्ने मुडमा ओली देखिँदैनन् । 

ओली मात्र होइन, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि पनि नेतृत्व हस्तान्तरणको दबाब बढेको छ । यी तीनै नेताहरू भरसक नछाड्ने छाड्नै परे आफू अनुकूलका नेता अघि सार्ने तयारीमा देखिन्छन् । मुख्य दलका यी नेताहरू अहिले घरबारविहीन बनेका छन् ।

एमाले अध्यक्ष ओली सैनिक ब्यारेकबाट गुन्डुमा डेरा सरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले पनि खुमलटार छाडिसकेका छन् भने कांग्रेस सभापति देउवा अस्पतालमै छन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट उनको टाउकोमा १२ वटा टाँका लगाउनुपर्ने गरी चोट लागेको छ । उनी अहिले पनि अस्पतालमै छन् ।

१० दिनसम्म सेनाको ब्यारेकमा बसेर निस्किएका नेताहरूले बिस्तारै राजनीतिक गतिविधिमा सक्रिय हुन थालेका हुन् । ओली र प्रचण्डले पार्टीका नेता कार्यकर्तासँग भेटघाट सुरु गर्दै पार्टीमा नेतृत्व जोगाउन कसरत सुरु गरिसकेका छन् । ११औँ संविधान दिवसमा तीन वटै दलले आआफ्नै कार्यालयमा कार्यक्रम राखेर नेताहरूलाई मैदानमा उतारेका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्र र बाहिर समन्वयको भूमिकामा देखिएका छन् । शुक्रवार पार्टीको कार्यसम्पादन समितिको बैठक उपसभापति खड्काकै नेतृत्वमा बसेको छ ।

‘पार्टी नेतृत्वको विकल्पबारे सुझबुझपूर्ण ढङ्गबाट अघि बढ्नुपर्ने अहिलेको परिस्थितिलाई सबै नेता साथीहरूले अत्यन्तै संवेदनशील बन्नुपर्छ,’ उनले भने, ‘अहिले पार्टी मात्रै होइन, सिङ्गो देशमा सङ्कट छ ।

यसबेला सबैले एक भएर पार्टी र मुलुकलाई बचाउनु छ ।  सभापति उपचारमा रहेकाले उहाँको स्वास्थ्य ठिक भएपछि मात्र हामी बृहत् छलफल गरेर पार्टीलाई रूपान्तरण र पुनर्संरचित गर्नेछौँ ।’ 

खड्काको यो भनाइले काँग्रेसमा तत्काल पार्टी सभापतिको विकल्प खोज्ने सम्भावना देखिँदैन । तर पार्टीको अघोषित कार्यभार उपसभापति खड्काले नै सम्हालेका छन् ।

खड्कालाई औपचारिक रूपमा कार्यवाहक सभापतिको भूमिका भने दिइएको छैन । गुटका हिसाबले मात्र होइन, वरिष्ठताका हिसाबले खड्का देउवापछिका नेता हुन् । 

ओलीमा नेतृत्व हस्तान्तरण पेचिलो बनेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्किन रोक्ने निर्णयपछि संस्थापन र इतर समूहहरू एकअर्काविरुद्ध उत्रिएको बेला परिस्थिति ओलीको प्रतिकूल गएको छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्ण थापालगायत नेताहरूले पार्टीका हरेक बैठकमा फरक मत राख्दै आएका थिए ।

गत भदौ २०–२२ मा भएको विधान महाधिवेशनमा नेता थापाले सो समूहका तर्फबाट फरक प्रस्ताव पेस गरेका थिए । विधान महाधिवेशनले आगामी नेतृत्वका लागि ओलीलाई नै निर्विकल्प बनाउने तयारी गरे पनि जेनजी आन्दोलनले सो योजनालाई धक्का दिएको छ ।

आन्दोलनपश्चात् सार्वजनिक कार्यक्रममा नदेखिएका ओलीले सङ्क्रमणकालीन अवस्थासम्म उपाध्यक्ष शाक्यलाई अघोषित कार्यभार दिएर जाने सङ्केत गरेको एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराई बताउँछन् । तर त्यस्तो अवस्थामा पार्टीभित्र थप समस्या उत्पन्न हुने एमाले संस्थापन इतरका नेताहरूले बताएका छन् ।

जेनजी आन्दोलनका घाइते भेट्न पूर्वराष्ट्रपति भण्डारीको दौडधुप बढ्दै जाँदा ओलीमाथि तत्काल नेतृत्व छाड्न दबाब बढ्ने कतिपय नेताहरूले दाबी छ । तर स्थायी र केन्द्रीय कमिटीमा प्रस्ट बहुमत रहेकाले ओलीको इच्छाबिना भण्डारी समूहले नेतृत्व हस्तान्तरण गराउन नसक्ने नेताहरू बताउँछन् । 

माओवादी केन्द्रमा पनि उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको राजीनामा मागेपछि नयाँ हलचल आएको छ ।

नेतृत्व परिवर्तनको बहसले व्यापकता पाउन थालेपछि प्रचण्डले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पाखा लगाएर उपाध्यक्ष पम्फा भुसाललाई छाया नेतृत्व तयार गर्दै छन् । त्यो रणनीतिले पार्टीमा खैलाबैला हुने अवस्था आएको छ भने भुसालभन्दा प्रचण्डबाटै पार्टी सम्हालिन्छ भनेर अभियान चलाउन लगाइएको छ । त्यसले यस पटक पनि उपमहासचिव जनार्दन शर्मालाई नै ब्याक फायर हुने स्थिति छ ।   

गगन–विश्वको विशेष महाधिवेशनको प्रस्ताव तुहियो

सबै दलका युवा नेताहरूका लागि यो समय शीर्ष नेतृत्वको विकल्प खोज्ने यो नै उत्तम समय बनेको छ । जेनजी आन्दोलनको रापले तातेकैबेला पार्टी नेतृत्वको विकल्पलाई मूल एजेन्डा बनाएका दोस्रो र तेस्रो पुस्ताका नेताहरूले विशेष महाधिवेशनबाट पार्टीमा पुनर्संरचनाको बहस सुरु गरेका छन् ।

नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा,  नेताहरू चन्द्र भण्डारी, जीवन परियार, प्रदीप पौडेल, रञ्जित कर्ण, गुरुराज घिमिरे, नैनसिंह महर, प्रतिमा गौतम, भूपेन्द्र जङ्ग शाहीसहितका नेताहरूले सभापति देउवाले पार्टी नेतृत्वबाट बिदा लिनुपर्ने सुझाव दिएका छन् ।

काँग्रेसमा १५औँ महाधिवेशनको समय कम्तीमा एक वर्षपछि धकेल्ने र  देउवा छैटौंपटक प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशन गर्ने तयारी थियो ।  तर जेनजी आन्दोलनले उनका दुवै सपना चकनाचुर पारिदिएको छ । पुराना राजनीतिक दल र पुराना नेताहरूप्रति आक्रोशित युवाले नरुचाएका नेताहरूले फेरि टाउको उठाउने आशङ्का पार्टीभित्र कायमै छ । 

आगामी मङ्सिरमा कार्यकाल समय सकिने भएकाले यो तीन महिनाको समयभित्रै नियमित महाधिवेशन गर्ने गरी अघि बढ्नुपर्ने नेता प्रदीप पौडेलले बताउँछन् ।

उनले भने ‘काँग्रेसको नियमित महाधिवेशनको समय आइसकेको छ । तीन महिनामा महाधिवेशन गर्न सकिन्छ । आम निर्वाचनअघि महाधिवेशनमा जानुपर्छ र अधिवेशनबाटै पार्टीको नीति, नेतृत्वसहित सबै छिनोफानो गरौँ भन्ने मेरो धारणा हो । पार्टीप्रति जनविश्वास बढाउने यो भन्दा अर्को विकल्पमा जानु हुँदैन ।’ 

कतिपय नेताहरूले पार्टीको विशेष महाधिवेशन भने पनि सबै पदाधिकारीको कार्यकाल मङ्सिर भित्रै सकिने हुँदा यसलाई नियमित महाधिवेशनकै रूपमा लिनुपर्ने पौडेलले बताए । तर, शुक्रवार काँग्रेसको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने प्रस्ताव राखे पनि त्यसमा अधिकांश नेताहरूको समर्थन पाउन सकेनन् ।

काँग्रेसका सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले तत्कालका लागि कसैलाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी नदिने र पार्टीको विशेष महाधिवेशन पनि नबोलाउने कार्यसम्पादन समितिको निर्णय भएको उनले बताए ।

काँग्रेसले राजनीतिक परिस्थिति हेरेर चाँडै केन्द्रीय समिति बैठक आह्वान गर्ने तयारी गरेको छ । नेकपा एमाले, माओवादी केन्द्र र रास्वपामा समेत पार्टी पूर्नसंरचनाको बहस भइरहँदा पार्टीको आगामी नीति र नेतृत्वको खोजी हुने गरेको नेताहरूले बताएका छन् ।

आजको मध्यान्न दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार