धरानमा जेनजी आन्दोलनको आडमा आगजनी र तोडफोड, पत्रकार–संगीतकारसमेत संलग्न

मंगलबार, ०७ असोज २०८२

 धरान : भदौ २४ गते धरानमा भएको जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडमा १५० भन्दा बढी व्यक्तिको संलग्नता रहेको पाइएको छ। यस विषयमा राजनीतिक दल र पीडितहरूले इलाका प्रहरी कार्यालय धरानमा छुट्टाछुट्टै उजुरी दिएका छन्।

उजुरी दिने व्यक्तिहरूमा पूर्वमेयर मनोज मेन्याङ्बो, पूर्वउपमेयर मञ्जु भण्डारी, पूर्वसांसद जयकुमार राई, कांग्रेस नेताहरू उमेश थापा, सुजेन्द्र तामाङ र कार्यपालिका सदस्य सिर्जना नेपाल रहेका छन्।

प्रहरीले पत्रकार विमल शाक्य,सङ्गीतकार हेम सुब्बा, मिलन बान्तवा राई, दीपचन्द्र राई (कान्छी) लगायतको पहिचान गरिसकेको छ। माओवादी केन्द्र धरानका अध्यक्ष उद्धव लिम्बूले मात्रै ४० जनाको नामसहित उजुरी दिएका छन्।

धरानका एमाले अध्यक्ष हर्कजङ एभेङले पार्टी कार्यालयमा भएको तोडफोडमा संलग्न व्यक्तिहरूलाई तुरुन्त पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन्। पूर्वमेयर मेन्याङ्बोले आफ्नै घरमा आक्रमण गर्नेहरू अझै नियन्त्रणमा नआएको भन्दै प्रहरीप्रति असन्तोष प्रकट गरेका छन्।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूले पहिचान भएका व्यक्तिहरूलाई पक्राउ गर्न व्यापक प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्।

उनले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको र बाँकी भागिरहेका व्यक्तिहरूलाई चाँडै कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय र राजनीतिक दलहरूले आन्दोलनको नाममा अराजकता फैलाउने र हिंसामा संलग्न हुनेलाई कडाभन्दा कडा सजाय दिन सरकार तथा सुरक्षा निकायसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार