सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१६ उब्दीमा सामान्य लेन–देनको विवादले ज्यान लिने घटनामा रूप लिएको छ। बुधबार राति करिब ९:३० बजे ४२ वर्षीय रामकुमार चौधरीको कुटपिटका कारण मृत्यु भएको हो।
प्रहरीका अनुसार स्थानीय ५०–५५ वर्षका लाल चौधरीले रामकुमारलाई कुटपिट गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
गम्भीर घाइते रामकुमारलाई परिवारजनले तत्कालै इटहरीमै रहेको सान्वि सिटी अस्पताल पुर्याएका थिए । तर सो अस्पतालमा सामान्य उपचार समेत हुन गर्न नसकेपछि तत्कालै उनलाई विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्याइएको थियो ।
तर, उपचारकै क्रममा राति नै उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा गएको टोलीले आरोपी लाले चौधरीलाई घटनास्थलमै नियन्त्रणमा लिएको छ।
उनलाई स्वास्थ्य परीक्षणपछि जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। प्रहरी र घटनास्थलवाला विवरण अनुसार, रामकुमारले आफ्नो दोकानमा खाएको पैसा लाल चौधरीसँग मागेका थिए।
पैसा मागेपछि सामान्य रूपमा मादकपदार्थ सेवन गरेका लाले चौधरीले रामकुमारलाई कुटपिट गर्दै सडकमा धकेलेका थिए।
सडकमा खस्दा टाउकोमा गम्भीर चोट लागेको रामकुमारको उपचारको क्रममा मृत्यु भएको स्थानीय दीपक श्रेष्ठले जानकारी दिए। मृतक चौधरीका २ छोराहरु रहेका छन ।
प्रतिक्रिया