विराटनगर । लायन्स क्लब अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ सी अन्तर्गत नवगठित लायन्स क्लब अफ विराटनगर सोसलका सदस्यहरूको शपथ ग्रहण तथा पदाधिकारीहरूको पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ।
विराटनगरस्थित होटल मनास्लुमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ नेपालका पूर्व इन्टरनेशनल डाइरेक्टर तथा कन्स्टिच्युसनल एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटी प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर, भाइस डिस्ट्रिक्ट गभर्नर, क्याबिनेटका पदाधिकारी, स्पोन्सर लायन्स क्लब अफ विराटनगर सेन्ट्रलका पदाधिकारी तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा क्लबका सदस्यहरूको शपथ तथा पदाधिकारीहरूको पदस्थापन डिस्ट्रिक्टका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले गराएका थिए।
लायन्स क्लब अफ विराटनगर सेन्ट्रलका पूर्व अध्यक्ष तथा डिस्ट्रिक्ट ३२५ सी का पूर्व गभर्नर लायन लिला ढुंगेलको अध्यक्षतामा गठित यस क्लबमा विभिन्न पेसा र व्यवसायमा संलग्न २९ जना सदस्य आबद्ध भएका छन्।
पूर्व गभर्नर समेत रहेका लायन लिला ढुंगेलले लायन्स क्लबको नेतृत्वमा रहेर पुनः समाजसेवामा योगदान दिने उद्देश्यले संस्थापक अध्यक्षको जिम्मेवारी लिएका छन्। यसबाट लायन्स क्लबको जुनसुकै पदमा रहीसकेका व्यक्तिहरूले पनि पुनः सक्रिय भएर समाजसेवामा योगदान दिन सक्ने उदाहरण प्रस्तुत भएको छ।
सन् १९१७ मा अमेरिकाको सिकागोमा मेल्विन जोन्सले स्थापना गरेको लायन्स क्लबको मूल उद्देश्य मानवताको सेवा र समुदायलाई सशक्त बनाउनु हो। नेपालमा भने लायन्स क्लबको सुरुवात सन् १९७१ मा प्रधानमन्त्री लायन मातृकाप्रसाद कोईरालाले गरेका थिए।
प्रतिक्रिया