सुरुङ्गा : जेनजी आन्दोलनका क्रममा सहिद बनेका र घाइते भएकाहरूलाई मेन्स रुम रिलोडेड (एमआरआर) टिम कोरियाले आर्थिक सहयोग गरेको छ ।
एमआरआरले झापाको अर्जुनधारा निवासी सहिद दिनेश राजवंशीको परिवारलाई ५० हजार सहयोग गरेको छ भने आन्दोलनमा घाइते भएका नौ जनालाई पनि आर्थिक सहयोग हस्तान्तरण गरेको हो । घाइतेमध्ये आठ जनाको परिवारलाई उपचार खर्चस्वरूप जनही ३० हजार र गोली लागेर घाइते भएका सुमित शाहलाई २० हजार प्रदान गरिएको एमआरआर झापाका कार्यक्रम संयोजक शरद जोशीले जानकारी दिए ।
एमआरआर टिम कोरिया सुजन उप्रेतीको संयोजनमा बनेको हो र त्यहाँ कार्यरत नेपाली समुदायबाट संकलित रकम सहिद तथा घाइते परिवारलाई प्रदान गरिएको हो । यसै क्रममा एमआरआरले झापाका सहिद तथा घाइते परिवारलाई हालसम्म करिब रु ३ लाख २० हजार वितरण गरेको संयोजक जोशीले बताए ।
बिर्तामोड–५ निवासी सुनिल तामाङलाई आज सहयोग हस्तान्तरण गर्दै पहिलो चरणको कार्यक्रम सम्पन्न भएको र दसैँपछि दोस्रो चरण सञ्चालन गरिने योजना रहेको एमआरआरले जनाएको छ । रकम हस्तान्तरण कार्यक्रममा एमआरआर झापाका सदस्य विपिन आचार्य र दिवाकर गुरुङ सहभागी भएका थिए ।
एमआरआरले सहयोग गरेका घाइतेमा सुसान रनापहेँली, रिजन दाहाल, राजेश पोर्टेल, सुरेश खड्का, मस्ताकिन मियाँ, अनित तामाङ, सुनिल तामाङ र विवेक दुनुवार रहेका छन् ।
कार्यक्रम संयोजक जोशीका अनुसार कोरियाबाट प्राप्त रकमको कुनै अंश व्यवस्थापन वा अन्य शीर्षकमा खर्च नगरिएको र प्रत्यक्ष रूपमा सहिद तथा घाइते परिवारलाई नै वितरण गरिएको हो । साथै, आन्दोलनका क्रममा सहिद वा घाइते भएका अन्य व्यक्तिको परिवारलाई तत्काल सम्पर्क गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया