जेनजी आन्दोलनले देखाएको पीडा समाधान गर्न रूपान्तरण जरुरी : पौडेल

शनिबार, ११ असोज २०८२

काठमाडौँ : नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले समाजमा गढी बसेका तर राजनीतिक दल र व्यवस्थाले सुधार गर्न नसकेका विषय जेनजी आन्दोलनले उठाएको भन्दै अब तिनको समाधान रूपान्तरणको यात्रामार्फत गर्नुपर्ने बताएका छन्।

रामेछापमा आयोजित पत्रकार अन्तरक्रियामा बोल्दै उनले आन्दोलन विषयविहीन नभएको तर गैरजेनजीहरूले त्यसमध्ये स्वार्थको रोटी सेक्ने काम गरेको आरोप लगाए।

‘जेनजी आन्दोलन विषयविहीन थिएन, समाजमा जकडिएका तर दलहरूले सुधार गर्न नसकेका मुद्दा थिए,’ उनले भने, ‘नीतिगत व्यवस्थाभित्र रहेका कमजोरीले जन्माएका समस्या आन्दोलनमार्फत अगाडि आएका हुन्।’

तर, पौडेलले ती संवेदनशील र गम्भीर विषयको नाममा बाह्य स्वार्थी शक्तिहरूले हस्तक्षेप गरेको र आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको दाबी गरे।

‘नेपालमा अहिलेसम्मकै ठूलो क्षति भएको छ,’ उनले भने, ‘आन्दोलनमा गैरजेनजी घुसेर उत्पात मच्चाए, राष्ट्रिय–अन्तर्राष्ट्रिय स्वार्थले परिस्थितिलाई जटिल बनाए।’

पौडेलले पहिलो दिनमै थुप्रै युवाले सहादत प्राप्त गरेको घटनालाई गम्भीर भन्दै यसको छानबिन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार युवाको बलिदानसँगै व्यक्ति तथा राज्यको सम्पत्ति दुवै असुरक्षित बनेको तथ्यलाई सरकारले सामान्य रूपमा लिनु हुँदैन।

उनले थपे, ‘युवाको सहादत र सम्पत्तिको विनाशलाई गम्भीरतापूर्वक लिनुपर्छ, सरकार अनिवार्य रूपमा छानबिनमा लाग्नुपर्छ।’

देश स्थिरतातर्फ जानुपर्ने भन्दै उनले निष्पक्ष र शान्तिपूर्ण ढङ्गबाट निर्वाचन हुनुपर्नेमा जोड दिए। ‘राज्यका संयन्त्रमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्छ, यसो भए मात्र समस्या हल हुन्छ,’ पौडेलले भने।

पौडेलले आफू सरकारको क्याबिनेटमा अन्तिम क्षणसम्म पनि जेनजी र सामाजिक सञ्जालको विषय उठाउने पहिलो व्यक्ति भएको दाबी गर्दै, २३ गते नै राजीनामा दिने मनस्थितिमा भए पनि पार्टीसँग छलफल गरेर भोलिपल्ट मात्र राजीनामा दिएको बताए।

‘प्रधानमन्त्रीलाई राजीनामा बुझाउन म बालुवाटार जाँदै थिएँ, तर परिस्थिति बदलिएपछि सामाजिक सञ्जालमार्फत राजीनामा दिएँ,’ उनले स्मरण गरे। पौडेलका अनुसार उनले त्यसपछि आफ्नै व्यवस्थापनमा सुरक्षित बस्ने निर्णय गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार