खोटाङ : खोटाङको साकेला गाउँपालिकाले दसैँ, तिहार, नेपाल संवत् तथा छठपर्वको अवसर पारेर आयोजना गरेको सामाजिक सुरक्षाभत्ता वितरण शिविरमार्फत ५८२ सेवाग्राही लाभान्वित भएका छन् ।
ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई गाउँमै पुगेर सेवा दिने उद्देश्यले प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरिएको हो । सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङ राईका अनुसार लाभग्राहीले चाडपर्वअघि घरआँगनमै सेवा पाएपछि खुशी व्यक्त गरेका छन् ।
वडागत विवरणअनुसार,
साकेला–१ बाँझेच्यानडाँडाका १७८ जनाले रु ३८ लाख २१ हजार,
वडा नं २ रतन्छाका १२३ जनाले रु १८ लाख ५८ हजार,
वडा नं ३ खिदिमाका ८८ जनाले रु १३ लाख ३७ हजार,
साकेला–४ मात्तिमका ७९ जनाले रु १२ लाख ५९ हजार,
साकेला–५ मात्तिमविर्ताका ११४ जनाले रु १८ लाख ८८ हजार प्राप्त गरेका छन् ।
गाउँपालिकाले नेपाल एसबिआई बैंकसँग सहकार्य गरेर शिविरमार्फत भत्ता वितरण गरेको हो । शिविरमा उपस्थित भएर लिन नसक्ने लाभग्राहीले नेपाल एसबिआई बैंकका देशभरका शाखाबाट पनि भत्ता लिन सक्ने व्यवस्था गरिएको छ ।
गाउँपालिका प्रमुख रविप्रकाश राईका अनुसार भौगोलिक विकटता र शारीरिक अशक्तताका कारण लाभग्राहीलाई सहज बनाउन शिविरमार्फत वितरण गरिएको हो । जिल्लाका दश स्थानीय तहमध्ये साकेला गाउँपालिका नै पहिलो हो जसले सामाजिक सुरक्षाभत्ता बैंकिङ प्रणालीमार्फत वितरण सुरु गरेको हो ।
यसअघि कर्मचारीमार्फत वितरण गर्दा मृतक, बसाइँ सरेका वा नक्कली लाभग्राहीमार्फत भत्ता दुरुपयोग भएको पाइएकाले त्यसलाई रोक्न बैंकिङ प्रणाली लागू गरिएको पालिकाले जनाएको छ ।
प्रतिक्रिया