जेनजीआन्दोलनपछि सुनसरीमा प्रहरीको एक्सन: ‘क्र्याकडाउन’ अभियान सुरु

प्रहरी प्रमुख थेबे भन्छन् : अपराधीले उन्मुक्ति पाउने छैनन्

मंगलबार, ०९ मंसिर २०८२

सुनसरी: जेनजी आन्दोलनपछिको अवस्थालाई कठोर र व्यवस्थित रूपमा नियन्त्रणमा लिन सुनसरी प्रहरीले व्यापक ‘क्र्याकडाउन’ सुरु गरेको छ।

आन्दोलन भएको झन्डै साढे दुई महिना बितेपछि सुरु गरिएको अनुसन्धान अहिले तीव्र गतिमा अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख केशब थेबेले जानकारी दिए।

थेबेका अनुसार प्रहरीले एक हप्तादेखि औपचारिक रूपमा जाहेरी लिनु, प्रमाण सङ्कलन गर्नु, सिसिटिभी फुटेज विश्लेषण गर्दै संलग्नहरूको पहिचान गर्ने लगायतका सबै प्रक्रिया एकैसाथ अघि बढाइरहेको छ।

इटहरी र पकलीसहितका इलाका प्रहरी कार्यालयमा आगजनी हुँदा प्रशासनिक संरचना पूर्ण रूपमा ध्वस्त भएपछि हाल पुनः स्थापित कार्यालयमार्फत मुद्दा दर्ता र अनुसन्धान अघि बढाइएको हो। 

प्रहरी प्रमुख थेबेले भने, “कानुनविपरीत काम गर्ने जो कोहीले पनि उन्मुक्ति पाउँदैन। ढिलो–छिटो सबैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्छौं ।”

WhatsApp Image 2025-11-25 at 08.09.05

इटहरीका डीएसपी सुवास हमालका अनुसार पहिलो चरणमा प्रहरी भवनमा तोडफोड र आगजनीमा संलग्न समूहलाई कानुनी दायरामा ल्याउने लक्ष्यका साथ तथ्य–प्रमाण सूक्ष्म रूपमा अध्ययन भइरहेको छ।

“सिसिटिभी फुटेज, प्रत्यक्षदर्शीका बयान, सामाजिक सञ्जालमा सार्वजनिक भिडियो–तस्बिर र प्रहरीको आफ्नै अनुसन्धानका आधारमा जो कोही दोषी कारबाहीबाट बच्न सक्दैन,” डीएसपी हमालले स्पष्ट पारे।

यसबीच, इटहरी प्रहरी कार्यालयमा आगजनीमा संलग्न कम्तीमा ६ जनाको पहिचान भइसकेको र उनीहरूविरुद्ध पक्राउ अनुमति जारी भइसकेको प्रहरीले जनाएको छ। बाँकी संलग्नहरूको पहिचान तीव्र गतिमा भइरहेको छ।

इटहरी प्रहरी कार्यालयमा मात्रै ७ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरी विवरणले देखाउँछ। भवनदेखि लिएर सामग्री, अभिलेख, सेवा सुविधा र पार्किङमा रहेका सम्पूर्ण सवारीसाधन जलेर नष्ट भएका थिए।

आगजनीका क्रममा थ्री–नट–थ्री राइफलका म्यागेजिन, २ दर्जनभन्दा बढी कटुवा तथा भरुवा बन्दुक, र ५०० भन्दा बढी गोली हराएको पुष्टि भएको छ। अत्यन्त संवेदनशील मानिएको यस घटनामा छुट्टै अनुसन्धान टोली परिचालन गरिएको छ।

जेनजी आन्दोलनकै क्रममा राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा झन्डै ९ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।

कार्यालय प्रमुख दीपक गिरीले संलग्न व्यक्तिको पहिचानसहित विस्तृत प्रतिवेदन प्रहरीलाई बुझाउँदै कारबाही माग गरेका छन्। उनले सामाजिक सञ्जालबाट सङ्कलित भिडियो–तस्बिरसहितका प्रमाणहरू पनि प्रहरीलाई उपलब्ध गराइसकेका छन्।

Untitled design (8)

जेनजी आन्दोलनका कारण सुनसरीभर भएका तोडफोड, आगजनी र लुटपाटका घटनाबाट समग्र क्षति करोडौँ रुपैयाँ पुगेको छ। इटहरी प्रहरीले ७ करोडभन्दा बढी, ट्राफिक कार्यालयले ११ करोडभन्दा बढी क्षति व्यहोरेका छन् भने पकलीसहितका अन्य प्रहरी कार्यालयका भवन तथा सामग्री पूर्ण रूपमा नष्ट भएका छन्।

 ठूलो मात्रामा हातहतियार, म्यागजिन र गोली हराएको छ। विभिन्न सरकारी कार्यालय, पालिका भवन, राजस्व तथा प्रशासनिक संरचनामा समेत तोडफोड र क्षतिको ठूलो संख्यामा घटना दर्ता भएका छन्, जसको वित्तीय मूल्यांकन हालै मात्र सुरु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार