विराटनगर । नेपाली मौलिक कला, संस्कृति र अध्यात्मको जगेर्ना गर्ने उद्देश्यका साथ आयोजित ‘भजन कीर्तन प्रतियोगिता २०८२’ भव्यताका साथ सम्पन्न भएको छ ।
विराटनगर महानगरपालिका–४ मा रहेको मदरल्याण्ड एकेडेमी स्कुलले आफ्नो स्थापना कालदेखि प्रत्येक वर्ष सरस्वती पूजाका अवसर पारेर नेपाली मौलिक कला, संस्कृति र अध्यात्मको जगेर्ना गर्ने उद्देश्यका साथ भजन कीर्तन प्रतियोगिता गर्दै आएको एकेडेमीका प्रिन्सिपल मोहन बुढाथोकीले जानकारी दिए ।
प्रिन्सिपल मोहन बुढाथोकीले यस वर्षदेखि भजन कीर्तन प्रतियोगितालाई अझ व्यवस्थित र फराकिलो तबरबाट आयोजना गरिएको बताए । उनले विद्यार्थीमा अनुशासन, करुणा, कला, संस्कार, संस्कृति तथा नैतिकताको मानसिक र भावनात्मक विकास गराउनका लागि विद्यालय स्थापना कालदेखि नै सरस्वती पूजाका अवसरमा भजन कीर्तन कार्यक्रम गर्दै आएको बताए ।
स्कुलको स्थापनाको सुरुवाती चरणमा भजन कीर्तन स्कुलमै मात्रै सीमित थियो । समाजमा देखिँदै आएको विकृति र बाध्यबाधनलाई सुधार, संरक्षण तथा प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्यले स्कुलमै सीमित भएको भजन कीर्तिन कार्यक्रमलाई प्रतियोगिताका रुपमा अघि बढाइएको थियो ।
स्कुलमा मात्रै नभई स्कुल बाहिरको सामाजमा यसलाई अझ थप परिस्कृत गर्दैै प्रतियोगितालाई केही फराकिलो बनाएर २०७९ सालदेखि यसलाई अझ प्रभावकारी र व्यवस्थित बनाउँदै नगर स्तरमा प्रतियोगितात्मक रूपमा सञ्चालन गर्दै आएको प्रिन्सिपल बुढाथोकीले प्रस्ट्याए । उनले सुरुवात नगरभित्रका केही भजन कीर्तिन मण्डलीको सहभागिता हुँदै आएको पछिल्लो २÷३ वर्षदेखि नगरबाट मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रतियोगितामा भाग लिन इच्छुक भएपछि त्यहाँका टोलीको पनि सहभागिता हुन थालेको हो ।
प्रत्येक वर्ष प्रतियोगितामा सहभागी हुने भजन कीर्तिन मण्डलीको संख्या बढ्दै गएको र यस वर्ष ४७ वटा टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता टोलीले थोरै राशिको नगद पुरस्कार पाउने गरे पनि उनीहरूले राशिलाई भन्दा पनि भजन कीर्तिनमा सहभागिता जनाउने कुरालाई महत्व दिइको प्रिन्सिपल बुढाथोकीले बताए । उनले त्यही भएर पनि गत वर्षको भन्दा यस वर्ष पुरस्कार राशिलाई वृद्धि गरेको र अब प्रत्येक वर्ष राशि बढाउँदै प्रथम पुरस्कार १ लाख रुपैयाँ बनाउने बताए ।
_O2GPG9d35B.jpg)
भजन कीर्तन प्रतियोगिताको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न एकेडेमीले ५० हजार बराबरको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । उक्त अक्षयकोषलाई आगामी दिनमा अभिवृद्धि गर्दै लैजाने प्रिन्सिपल बुढाथोकीले बताए ।
कार्यक्रमको समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि कोशी प्रदेशका वन तथा वातावरण मन्त्री भीम पराजुलीले पुरस्कार वितरण गर्दै नेपाली समाजमा भजन कीर्तनको ऐतिहासिक र साँस्कृतिक महत्व रहेको चर्चा गरे । उनले यस्ता प्रतियोगिताले नयाँ पुस्तालाई आफ्नो संस्कारसँग जोड्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
प्रतियोगिताको निष्पक्ष मूल्यांकन गर्नका लागि छुट्टै ५ जना विशेषज्ञहरूको निर्णायक मण्डल गठन गरिएको थियो । प्रतियोगितामा विराटनगर पोखरियाको रामजानकी आमा समूह प्रथम हुँदै २५ हजार रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै, विराटनगर बरगाछीको लक्ष्मी नारायण भजन कीर्तन मण्डली द्वितीय हुँदै २० हजार र विराटनगर गणेश चोकको अच्युतम भजन कीर्तन टोली तृतीय हुँदै १५ हजार रुपैयाँ प्राप्त गरे ।

उनीहरूले नगद पुरस्कारका साथै शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी अन्य ४४ वटा टोलीलाई उत्साह र कलाको कदर गर्दै सान्त्वना स्वरूप जनही नगद ३ हजार ५ सय रुपैयाँ प्रदान गरिएको छ ।
प्रतिक्रिया