इटहरी : गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा प्रशासनिक र सुरक्षा संरचनामा गम्भीर चुनौती उत्पन्न गरेको छ ।
आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका कारण इटहरी इलाका प्रहरी कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । हालसम्म प्रहरी कार्यालय आफ्नो पुरानो स्थानमा पुनः स्थापित हुन नसकेको र अस्थायी भवनबाट मात्र सेवा दिइरहेको अवस्था छ ।
आन्दोलनका क्रममा पूर्ण रूपमा ध्वस्त भएको इटहरी इलाका प्रहरी कार्यालयको भवनमा अहिले प्रहरीको काम सञ्चालन गर्न असम्भव रहेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जनाएका छन् ।
“प्रहरी आफूलाई सुरक्षित राखेर मात्र सेवा दिन सक्छ, तर पुरानो भवनमा हालको अवस्था भने त्यसरी काम गर्न योग्य छैन ।” खतिवडाले भने ।
हाल प्रहरी अस्थायी रूपमा तरहराको प्रहरी चौकीको भवनबाट इलाकाको सेवा सञ्चालन गर्दै आएको छ । यस कारण स्थानीय बासिन्दाले सहजै प्रहरी सेवा पाउन कठिनाइ भइरहेको छ । सुरक्षा र प्रशासनिक अन्यौलताको कारण इटहरीमा आपराधिक गतिविधि बढ्ने जोखिम पनि उल्लेखनीय रूपमा देखिएको छ ।
सुरक्षा चुनौती र बढ्दो अपराध
इटहरी प्रहरी स्रोतका अनुसार आन्दोलनपछि सुरक्षा चुनौती बढेको छ । थुनुवा राख्ने सुरक्षित ठाउँको अभाव, आवश्यक फाइल र सामग्री व्यवस्थित गर्न नसक्नु, सवारी साधनको अपर्याप्तता, जस्ता कारणले जनताले सहज प्रहरी सेवा पाउन कठिनाइ भएको छ ।
पछिल्लो उदाहरणको रूपमा इटहरी उपमहानगरपालिका–१६ उब्दीमा सामान्य लेन–देनको विवादले हत्या घटनामा रूप लिएको छ । बुधबार राति ४२ वर्षीय रामकुमार चौधरीको वादविवादको क्रममा कुटपिट हुँदा मृत्यु भएको थियो ।
२०३२ सालमा निर्माण भएको प्रहरी चौकीको भवन पाँच दशकदेखि निरन्तर सेवा दिँदै आएको थियो । २०६२–६३ सालको आन्दोलन र त्यसपछिका घटनाहरूमा पनि यो कार्यालयले सुरक्षा प्रदान गर्दै आएको थियो । तर, जेन–जी आन्दोलनको आगजनीले गर्दा भवन पूर्ण रूपमा ध्वस्त भएको छ ।
प्रहरीको उपस्थिति न्यून भएपछि इटहरीका विभिन्न टोल–बस्तीमा चोरीका घटना तीव्र रूपमा बढ्न थालेका छन्।
स्थानीयहरू स्वयं भन्छन्— प्रहरी नहुँदा गाउँघरमै असुरक्षा बढेको छ। इटहरी–२ का स्थानीय तथा सञ्चारकर्मी गणेश निरौलाले भने, “टोलमा सुरक्षा चुनौती चुलिएको छ। त्यसैले हामीले आफैँले रात्रि गस्ती सुरु गर्नुपरेको छ।”
उनका अनुसार सृजनशील टोल विकास संस्थाको अगुवाइमा समुदायमै पहिलो पटक रात्रि गस्ती सुरु गरिएको छ । स्थानीय सुरक्षालाई प्राथमिकतामा राख्दै प्रत्येक दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म १५ जना भन्दा बढी स्थानियहरुले टोली बनाएर गस्ती गर्न थालेका छन् ।
संस्थाका पदाधिकारीका अनुसार यो अभियानले टोलभित्र हुने चोरी, दुर्व्यवहार तथा अन्य अनियमितता नियन्त्रणमा सहयोग पुर्याउने विश्वास गरिएको निरौलाको भनाइ छ ।
प्रहरीका सम्पूर्ण सवारीसाधन हालैको आगजनीमा जलेर खरानी भएपछि उनीहरूलाई नियमित गस्तीसमेत गर्न समस्या भएको प्रहरी स्रोतले जनायो।
तरहरास्थित प्रहरी चौकीमा रहेको एउटा पुरानो जिप नै अहिलेको भर हो। स्रोतले प्रश्न गर्यो— “त्यो पनि थोत्रो गाडीबाट कसरी पूरै इटहरीलाई सुरक्षा दिन सकिन्छ ?”
यता नागरिक समाज इटहरीका पूर्व अध्यक्ष सन्तबहादुर डुम्जनले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरूलाई तत्काल पुनः स्थापित गरेर इटहरीलाई पुरानै लयमा फर्काउनु इटहरीवासीको सामूहिक दायित्व भएको बताएका छन्।
उनका अनुसार उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीको संयोजकत्वमा संरचना पुनः निर्माण तथा पुनः स्थापना समितिसमेत गठन भइसकेको छ।
उनले भने, “राजमार्ग ट्राफिक कार्यालय, इलाका प्रहरी कार्यालय इटहरीलगायतका संरचनाहरू बस्नै नसक्ने अवस्थामा छन्, स्थानीय सरकारको सक्रियतासहित यसको पुनः निर्माणमा तत्काल अघि बढ्नुपर्छ।”
डुम्जनले आगजनी भएको दुई हप्ता बितिसक्दा पनि पुनः स्थापना सुरु नहुनु इटहरीकै लागि दुर्भाग्य भएको भन्दै यसलाई नागरिक, उद्योगी–व्यवसायी र स्थानीय सरकार सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिए।
यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशव कुमार थेबेका अनुसार, आन्दोलनका क्रममा जिल्लाका कतिपय स्थानमा प्रहरी चौकीमाथि आक्रमण भएको थियो ।
उनले भने, “हामी स्थानीय पहल र सक्रियतामा इटहरी बाहेक अन्य स्थानमा प्रहरी सेवाहरू पुनः स्थापित गरिसकेका छौँ ।” यसले प्रहरी अविचलित भएर सेवा दिन सक्षम रहेको देखाउँछ ।
सुनसरी प्रहरी प्रमुख थेबेले स्पष्ट पार्दै भनेका छन् कि, “आपराधिक गतिविधि गर्ने जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ । यस परिस्थितिमा पनि हामी अविचलित भएर सेवा दिन तत्पर छौँ । आन्दोलनका क्रममा भएका क्षतिको विवरण सङ्कलन भइरहेको छ ।”
प्रहरीले शान्ति, सुरक्षा र अमन चयन कायम गर्न सबै पक्षको सहयोग आवश्यक भएको उल्लेख गर्दै सबैलाई जिम्मेवार व्यवहारमा लाग्न अपिल गरेको छ । सबैको समन्वयात्मक प्रयासबाट मात्रै इटहरी लयमा फर्कन सक्ने छ ।
उपमहानगरपालिकामा सेवा अवरोध
सुरक्षा प्रणालीमा मात्रै नभएर प्रशासनिक अन्यौलता उपमहानगरपालिकामा पनि परेको छ । आगजनीका कारण ध्वस्त भएको उपमहानगरपालिकाले कहिले पूर्ण सेवा सुरु गर्ने भन्ने अन्यौलता अझै कायम छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीनकुमार भट्टराईका अनुसार, उपमहानगरपालिकाले आंशिक रूपमा सेवा प्रदान गर्न थालेको छ । कार्यपालिकाको निर्णयअनुसार, वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, १०, १२, १३, १५÷१६, १९ र २० बाट प्रत्यक्ष सेवाहरू उपलब्ध हुनेछन् ।
त्यस्तै, वडा नं. ९ का सेवा वडा नं. ६, वडा नं. ११ का सेवा वडा नं. १२, वडा नं. १४ का सेवा वडा नं. ७, वडा नं. १७ का सेवा वडा नं. ५, र वडा नं. १८ का सेवा वडा नं. १ बाट सञ्चालन हुने व्यवस्था गरिएको छ ।
स्वास्थ्य सेवाहरू भने नियमित रूपमा सञ्चालन भइरहेको छ । यद्यपि आगजनीले ध्वस्त पारेको दमकल उपकरणको अभावमा इटहरी उपमहानगरपालिकाले अत्यावश्यक सेवाहरू दिन कठिनाइ भइरहेको छ ।
दमकल अभाव र आगलागी जोखिम
आन्दोलनमा प्रभावित इटहरीको दमकल सञ्चालनमा नहुँदा, चाडबाड र सुख्खा मौसममा हुने सम्भावित आगलागीका घटनामा तत्काल प्रतिक्रिया दिन असम्भव हुने जोखिम देखिएको छ । नागरिकले आफ्नो सुरक्षा महसुस नगर्नु र आगलागीको क्षतिको सम्भावना बढ्नु यस अवस्थाको प्रमुख चुनौती हो । इटहरीमा आयोजना गर्नुपर्ने विकास र सेवा कार्यहरू पनि सञ्चालनमा आउन सकिरहेका छैनन् ।
प्रतिक्रिया