पाँचथर : काठमाडौँ टोखाकी बिमला पाण्डे ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न जाँदै थिइन्। काफ्ले पाटीदेखि ठुलो फेदीतिर जाने क्रममा बाटोमा सुनको ब्रासलेट भेटियो।
“कतै आफ्नै हातमा लगाएको ब्रासलेट त झरेको होइन?” भन्ने सोच आएपछि मैले ब्रासलेट टिपेँ। तर, आफैँले लगाएको ब्रासलेट भने हातमा यथावत् थियो। “नटिप्नु पर्थ्यो, टिपी हालेँ, के गह्रौँ-गरौं भयो, कोही तीर्थयात्रीले हराएर खोजिरहेको हुनसक्छ, लगेर बुझाइदिन्छु” भन्ने सोच बनाउँदै म ब्रासलेट लिएँ।
मन्दिर पुगे पनि कोही खोजेन। पाथीभरा परिसरमा प्रहरीलाई भेट्दा मैले “सुनको सामग्री भेटेकी छु, के गर्न सक्छु?” भनेर सोधेँ। प्रहरीले सुझाव दिनुभयो, “दान पेटिकामा अर्पण गरिदिनुस्।” तर मेरो मन मानेन। फर्किँदै गर्दा सोचेँ, “सुनधनी भेटिएलान्, बुझाइदिन्छु।”
ताप्लेजुङ सदरमुकाम फुङलिङ आइपुग्दा सम्म सुनधनी भेटिएन। साँझपख टिकटकमार्फत सूचना पोस्ट गरी नम्बर पनि छोडेँ। अन्ततः सम्बन्धित व्यक्ति सम्पर्कमा आए। यो ब्रासलेट झापाको दमक–१ निवासी रश्मिला सुवेदीको रहेछ, बिमलाले बताइन्।
सुनधनीको पहिचान भएसँगै बिमलाले सोमबार साँझ पाँचथर आइपुगेर सम्बन्धित व्यक्तिका आफन्तलाई ब्रासलेट जिम्मा दिइन्। रश्मिला सुवेदीका मामा लवदेव ढुङ्गानाले प्रहरीको रोहबरमा उक्त सामग्री बुझ्दै विमलालाई धन्यवाद दिए।
बिमलाले भनिन्, “टिकटकमा सूचना राख्दा सम्बन्धित व्यक्ति, उनका आफन्त र प्रहरीले तुरुन्तै फोन गरेर सम्पर्क गरे। एकजना प्रहरीले त ‘तपाईँले सामान भेटेर लैजाँदै हुनुहुन्छ?’ भन्दै पनि थर्काउनुभयो। तर खराब नियत भए, मैले आफ्नो टिकटक मार्फत जानकारी कसरी छाड्थेँ?”
पाँचथर प्रहरीले सामग्री बुझ्दै विमलालाई सार्वजनिक स्थल वा बाटोमा फेला परेका महँगा धातुका सामग्री सम्बन्धित व्यक्तिलाई बुझाउन आग्रह गर्न आग्रह गर्यो।
बिमलाले भेटेको ब्रासलेट करिब आधा तोला तौलको रहेको बताइन्। उनले थपिन्, “मेरो अनुभवले देखाएको छ, बाटोमा भेटिएका कुनै पनि सामग्री असम्बन्धित व्यक्तिले लैजानु हुँदैन। मूल्य ठुलो भएपनि सही धनीलाई बुझाउनु नै उत्तम हुन्छ।”
प्रतिक्रिया