घाट निर्माणमा जुटे स्थानीय

आइतबार, १० बैशाख २०८०
इलाम । मानिसको मृत्यु सत्य हो । एक दिन मर्नै पर्छ । तर हाम्रो संस्कार अनुसार अन्त्येष्टि फरक तरिकाले हुने गरेको छ । शवलाई कसैले जलाएर अन्त्येष्टि गर्ने गरेका छौँ त कसैले माटोमा गाडेर । जलाएर अन्त्येष्टि गरिने ठाउँ पनि भरसक राम्रै होस भन्ने अपेक्षा गर्न थालिएको छ । अथवा अरूको मलामी जाँदा पनि सहज नै भइदिए हुन्थ्यो भन्ने हुन थालेको छ । शवको अन्त्येष्टि राम्रै तरिकाले गर्ने उद्देश्यले मङ्गलवारे बजारवासी समेत व्यवस्थित घाट निर्माणमा जुटेका छन् । देउमाई नगरपालिका ४ मङ्गलबारेका स्थानीय हाल दे उमाई २ मा रहेको घात व्यवस्थित गर्न जुटेका हुन् ।दे उमाई खोलाको सन्तवीरे घाट व्यवस्थित गर्न स्थानीय जुटेका छन् । सार्वजनिक बिदाको दिन वा शनिवार अभियान नै सञ्चालन गरेर काम गरिने स्थानीय छविलाल श्रेष्ठले बताए । “ ठूलाठूला आश्वासन होइन साना साना काम गरौँ“ भन्ने नारा सहित आफूहरू लागेको स्थानीय गोपाल मण्डलले बताए । आफूहरूले गर्ने काम श्रमदान मात्र नभएर उदाहरणीय समेत भएको स्थानीयको भनाई छ । पहिलो पटक नै स्वतःस्फूर्त रूपमा ४० जना भन्दा बढी स्थानीयको सहभागिता रहेको छ । आगामी दिनमा यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ । उनीहरूले आउने शनिवार समेत यस्तै कार्यक्रम गर्न लागेका छन् । अभियान अन्तर्गत श्रमदानसँगै केही आर्थिक जुटाउने कार्य समेत चलिरहेको छ । श्रमदानमा सहभागी भएर यो कार्य सम्पन्न गर्न सहयोग गरिदिन अभियन्ताहरूको आग्रह छ ।अरूको मुख हेर्ने भन्दा नि राम्रो कामको सुरुवात आफैँबाट गर्नुपर्छ भन्ने सन्देश सहित आफूहरू जुटेको अभियन्ता मात्रिका घिमिरेको भनाई छ । सक्नेले आर्थिक र जिन्सी सहयोग गर्ने हो अन्यले श्रमदानमा समेत सरिक हुने अभियान चलाइएको छ । जनताको सामर्थ्य विकसित दे उमाई बनाउनमा खर्चिन समेत आफूहरूको आग्रह गरेको अभियन्ताहरूको भनाई छ । अभियान अन्तर्गत नै भनिएको छ, “तपाईँको उपस्थिति केवल सङ्ख्या होइन, यो कार्य सम्पन्न गर्ने ऊर्जा पनि हो ।“ सो अभियानमा हुने सहभागिता कार्य सम्पन्न मात्र नभएर आफ्नो माटोको लागि योगदान पनि भएको जनाइएको छ । मङ्गलवारे बजारबाट फाकफोकथुम गाउँपालिकाको एक तप्पा लगायत जाने सडक पक्की हुँदै छ । सो सडक पक्की भएपछि मङ्गलवारे बजारबाट नजिकको घाट नै दे उमाई खोलाको सन्तवीरे नै हो । सोही कारण पनि सो घाटलाई व्यवस्थित गर्न लागिएको हो ।यस अघि शवलाई जलाउँदै गर्दा पानी परेको समयमा अचकल्टो छोड्ने गरिएको थियो । कति पटक शवका केही अङ्ग खोला किनारमा नै फेला पर्ने गरेका थिए । अब तीनै समस्या समाधानका लागि व्यवस्थित घाट निर्माण गरिने जनाइएको छ । शव जलाउने स्थानमा छानो लगाउने, शव लजाउन प्रयोग हुने दाउरा अड्याउन पिलर उठाउने भएको छ । साथै अझै पनि स्थानीयको राय र सल्लाह अनुसार व्यवस्थित घाट निर्माण गरिने जनाइएको छ । सो अभियान सम्पन्न पश्चात् अन्य सामाजिक कार्यमा समेत उसै गरी जुट्ने अभियन्ताहरुको भनाई छ । आउने वैशाख १६ गते समेत अभियान अन्तर्गत नै कार्य गरिने भएकाले सक्रिय सहभागिताको लागि सम्पूर्णमा आग्रह गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार