विराटनगर । विश्व पर्यटन दिवस–२०२५ को अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घ, कोशी प्रदेश पर्यटन तथा हवाई यातायात समितिको आयोजनामा आइतबार विराटनगरमा ‘पर्यटन संकटबाट सम्भावना’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ। कार्यक्रममा हालै भदौ अन्तिम साता देखिएका राजनीतिक घटनाक्रमका कारण पर्यटन क्षेत्रमा परेको असर र यसको दीर्घकालीन समाधानबारे व्यवसायी, विज्ञ र सरोकारवालाबीच विस्तृत छलफल गरिएको थियो।
समितिका सभापति भविष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले हालको राजनीतिक अनिश्चितताले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश पुगेको बताए। श्रेष्ठले पर्यटन व्यवसायलाई संकटबाट निकालेर पुनःस्थापित गर्न रणनीतिक उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
होटल व्यवसायी महासङ्घका उपाध्यक्ष रबिन गौतमले पर्यटनलाई सबल अर्थतन्त्र निर्माण गर्ने माध्यम मान्दै व्यवसायीहरूलाई आन्दोलनमा निशाना बनाइनु दुःखद भएको बताए। उनले पर्यटन क्षेत्रलाई तत्काल पूर्ववत अवस्थामा फर्काउन ढिलाइ नगरिनुपर्नेमा जोड दिए।
पर्यटन विज्ञ डा. प्रणिल उपाध्यायले संकटको समयमा अन्य मुलुकहरूले अपनाएको रणनीति र दृष्टान्त प्रस्तुत गर्दै नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रस्तुत गर्नुपर्ने बताए। उनका अनुसार, होटल व्यवसायीहरूले हाल नेपाल आएका पर्यटकलाई उत्कृष्ट सेवा र थप प्याकेजमार्फत सन्देश दिन सके सकारात्मक प्रभाव पर्न सक्छ।
अष्ट्रेलियाका पर्यटन संकट विज्ञ डा. डेभिड विर म्यानले भिडियो मार्फत आफ्नो अनुभव आदानप्रदान गर्दै नेपाल जस्तो गन्तव्यले अन्तर्राष्ट्रिय बजारमा छवि पुनःस्थापित गर्न समयमै प्रभावकारी सन्देश पुर्याउनुपर्नेमा जोड दिए।
सहभागीहरूले पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न कोशी पर्यटन वर्ष २०८२ लाई अवसरका रूपमा प्रयोग गर्दै भारतीय सहरहरूमा लक्षित प्रचार–प्रसार अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए। उनीहरूको भनाइमा, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ‘नेपाल सुरक्षित छ’ भन्ने विश्वास जगाउन सके संकटलाई सम्भावनामा परिणत गर्न सकिन्छ।
प्रतिक्रिया