काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थप सक्रिय हुने जनाएको छ।
विभागका अनुसार, बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली भारतको ओरिसाबाट नेपालतर्फ प्रवेश गर्ने भएकाले देशका धेरै भू–भागमा वर्षा हुने सम्भावना छ।
विभागकी मौसमविद् बिनु महर्जनले बताइन्,“न्यून चापीय प्रणालीको प्रभावले जलवाष्पयुक्त मनसुनी वायु नेपाल प्रवेश गर्दैछ, जसले असोज १७ (एकादशी) बाट विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय बनाउनेछ।”
पूर्वानुमान अनुसार:
असोज १७ – कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का–मध्यम वर्षा, केही स्थानमा भारी वर्षा।
असोज १८ – कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा धेरै स्थानमा हल्का–मध्यम वर्षा; केही स्थानमा भारीदेखि धेरै भारी वर्षा।
असोज १९ – माथिका प्रदेशमा धेरै स्थानमा हल्का–मध्यम वर्षा; कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा भारीदेखि अत्यधिक वर्षा।
विभागले भू–क्षय, बाढी, पहिरो र यातायातमा असर पर्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
प्रतिक्रिया