काठमाडौँ । अविरल वर्षाका कारण हाल देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले जनधनको व्यापक क्षति पु¥याएको छ । वर्षापछिको प्रकोपबाट प्रभावित मानिसको दैनिक जीवनयापन अस्तव्यस्त हुनपुगेको छ । प्रकोपका समयमा पानीजन्य रोगहरू फैलिने सक्ने भएकाले सावधानि अपनाउन विज्ञहरूले आमसर्वसाधरणसँग आग्रह गरेका छन् ।
विशेषज्ञहरूका अनुसार, वर्षायाममा सुरक्षित खानेपानी र सरसफाइका उपाय नअपनाउँदा पानीजन्य रोगको जोखिम बढी रहन्छ । विशेषगरी झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघा–खोकी, टाइफाइड तथा अन्य सङ्क्रमणजन्य रोगका कारण जनधनको क्षति हुनसक्छ । यी रोगहरुबाट बच्न पानी उमालेर वा ‘क्लोरिन’ प्रयोग गरी शुद्धीकरण गरेर मात्र प्रयोग गर्नुपर्ने विज्ञको सुझाव छ ।
विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउँछन्, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसी । उनका अनुसार कुनै पनि प्रकोप, विशेषगरी बाढी–पहिरोपछि खानेपानी प्रणालीमा समस्या आउनसक्छ र यस्तो अवस्थामा खानेपानीको स्रोतमा ढल मिसिने सम्भावना रहन्छ, जसले फोहोर पानीे सेवनका कारण झाडापखाला, हैजाजस्ता पानीजन्य रोग फैलिन सक्छ । “पिउने र खाना पकाउने पानी सफा र पिउनयोग्य छ कि छैन भन्ने सुनिश्चित गर्न आवश्यक छ । पानी उमालेर वा क्लोरिन झोल-ट्याबलेटको प्रयोग गरेर मात्र पिउनु उचित हुन्छ,” उनले भने ।
विज्ञका अनुसार शुद्धीकरण गरेको पानी सधैँ सफा भाँडामा छोपेर राख्ने, सडेगलेका, बासी र झिँगा भन्केका खानेकुरा नखाने, काँक्रो, गाजर, फलफूलजस्ता काँचै खान मिल्ने खानेकुरा सधैँ सफा पानीले धोएर मात्र खाने गर्नुपर्छ । यसैगरी खाना पकाउनु, खाना खानु र बच्चालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि तथा बच्चाको दिसा धोएपछि सधैँ साबुनपानीले मिचीमिची हात धुनुपर्छ ।
डा केसीका अनुसार बाढी तथा झाडापखालाबाट प्रभावित क्षेत्रमा अहिले क्लोरिन झोल र ट्याबलेट वितरण भइरहेको छ । “यदि पखालाजन्य रोग लागेको खण्डमा झोलिलो खानेकुरा प्रशस्त खाने र घरमै जीवनजल बनाएर सेवन गर्नुपर्छ । समस्या जटिल हुने अवस्था देखिएमा नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त उपचारका लागि जानुपर्छ,” उनले सुझाए ।
उनले बाढी, पहिरोका कारण जनधनको अकल्पनीय एवं अपुरणीय क्षति भएको विद्यमान अवस्थामा सरकारले प्रभावित क्षेत्रमा जीवनजल, क्लोरिन ट्याबलेट र आवश्यक औषधिको व्यवस्थापनसहित सबै स्वास्थ्य संस्थाहरूलाई ‘हाइ अलर्ट’ मा रहन निर्णय गरेको जानकारी गराए ।
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी केसीले देशको विद्यमान विषम परिस्थितिलाई दृष्टिगत गरी आवश्यक औषधि तथा स्वास्थ्य सामगीसहित स्वास्थ्यकर्मीहरू कार्यक्षेत्रमा जुटिसकेकाले प्रभावित व्यक्ति तथा परिवारलाई सहजरुपमा स्वास्थ्य उपचार गराउने सरकारको नीति तथा कार्यक्रमलाई सहयोग गरिदिन सम्बद्ध सबैसँग अनुरोध गरे ।
प्रतिक्रिया