काठमाडौँ : नवयुवा (जेएनजी) आन्दोलनका क्रममा गत भदौ २३–२४ गते देशभरका कारागार तोडफोड हुँदा फरार भएका कैदीमध्ये अझै पाँच हजार ८१४ जना कारागार फर्किएका छैनन् । त्यसैगरी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका करिब आठ सय हतियार पनि अहिलेसम्म फेला परेका छैनन् ।
आन्दोलनको मौका छोपेर कुल १४ हजार ५४९ जना कैदी फरार भएका थिए । तीमध्ये पछिल्ला २८ दिनमा आठ हजार ७३५ जना कैदी स्वतःस्फूर्त रूपमा कारागार फर्किसकेका छन् । प्रहरीका अनुसार आन्दोलनका बेला लुटिएका करिब एक हजार २५० हतियारमध्ये हालसम्म २७४ वटा हतियार बरामद गरिएको छ भने ९६ वटा हतियार जलेको अवस्थामा फेला परेका छन् ।
फरार कैदीलाई स्वतःस्फूर्त रूपमा फर्किन सरकारले सोमबारसम्मको समय सीमा तोकेको थियो । तर, अझै ठूलो सङ्ख्यामा कैदी नफर्किएपछि ‘विशेष अपरेसन’ सञ्चालन गर्ने तयारी भएको सुरक्षा स्रोतले जनाएको छ । प्रहरी कार्यालय तोडफोड र आगजनीका क्रममा लुटिएका हतियार र फरार कैदीका कारण शान्ति–सुरक्षामा असर पर्ने भन्दै नियन्त्रणका लागि कडाइ गर्ने तयारी भइरहेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले फरार कैदी र लुटिएका हतियारका कारण शान्त सुरक्षामा चुनौती उत्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “फरारमध्ये अधिकांश कैदी फर्किसकेका छन् र केही हतियार पनि बरामद भएका छन् । बाँकीलाई नियन्त्रणका लागि आवश्यक कारबाही अघि बढाउँछौँ ।”
सुरक्षा निकायका अनुसार कतिपय फरार कैदीले गृह प्रशासन र न्यायपालिकाका उच्च पदस्थ अधिकारीलाई धम्की दिन थालेका छन् । तीमध्ये धेरैजसो हत्या, लागुऔषध कारोबार र अन्य जघन्य अपराधमा संलग्न रहेको खुलाइएको छ ।
कारागार व्यवस्था विभागका महानिर्देशक लीला शर्माका अनुसार सोमबारसम्म आठ हजार ७३५ जना कैदी कारागार फर्किएका छन् । देशभरका ७४ वटा कारागारमा ३० हजार ६१८ जना कैदी रहेकामा १५ हजार ५४५ जना कारागारमै रहेका थिए । “फरार कैदी जतिसक्दो छिटो आफैँ फर्किनुपर्ने अपेक्षा छ, नभए कानुन अनुसार नियन्त्रणमा लिइनेछ,” शर्माले बताउनुभयो ।
विभागका अनुसार फरार कैदीलाई नियन्त्रणमा लिन सबै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायलाई पत्राचार गरिएको छ । भदौ २४ गते रास्वपा सभापति रवि लामिछाने कारागारबाट निस्केको समाचार सार्वजनिक भएपछि देशभरका धेरै कारागार तोडिएका थिए । त्यसपछि कैदीहरूले प्रहरी कार्यालय, सर्वोच्च अदालतसहित सार्वजनिक, निजी र व्यापारिक संस्थामा तोडफोड, आगजनी र लुटपाट मच्चाएका थिए ।
नक्खु कारागार तोडफोड गरी फरार भएका काभ्रेपलाञ्चोक पनौती–१२ का सन्तबहादुर तामाङले आफ्नी श्रीमती मनीषा घ्यावा तामाङ (३०) को हत्या गरेको घटनाले गम्भीर अपराधीहरू पुनः हिंसात्मक गतिविधिमा संलग्न भएको सङ्केत दिएको छ । यसले समग्र शान्ति–सुरक्षामाथि थप चिन्ता बढाएको छ ।
अधिकांश फरार विदेशी कैदी भारतीय
देशभरका कारागार तोडेर फरार भएका विदेशी कैदीमध्ये अधिकांश भारतीय नागरिक रहेको अनुमान गरिएको छ । तीमध्ये धेरैजसो हत्या, अपहरण, बलात्कार, चोरी, लागुऔषध र मानव तस्करी जस्ता अपराधमा संलग्न रहेको बताइएको छ ।
विभागका तथ्याङ्कअनुसार देशभरका विभिन्न कारागारमा रहेका एक हजार सात सय विदेशी कैदीमध्ये एक हजार ४७३ जना भारतीय थिए । तीमध्ये केही मात्रामा भारतीय कैदी स्वतःस्फूर्त रूपमा फर्किए पनि अधिकांश सीमा नाघी भागेको आशङ्का छ ।
त्यसैगरी, चार वटा बाल सुधार गृहबाट भागेका एक हजार ४२२ जना बाल बन्दीमध्ये पनि अधिकांश अझै फिर्ता भएका छैनन् ।
प्रतिक्रिया