पाँचथर । तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । खोलाहरूमा अकस्मात् बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् ।
पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरको मूलघाट गणेशचोक खण्डमा सवारीका साधन सञ्चालन हुन थालेको लामो समय भइसकेको छ । एक सय १० किलोमिटर सडकमध्ये हालसम्म ५४ किलोमिटर कालोपत्र नै भइसकेको छ । तर यस सडकमा पर्ने साँवा खोलाबाहेक अन्यत्र कुनै पनि खोलामा पुल निर्माण हुन सकेको छैन । पुल नहुँदा वर्षायाममा अचानक आउने बाढीका कारण सवारीका साधन गन्तब्यमा पुग्न नपाइबीचमै रोकिने गरेका छन् ।
तमोर कोरिडोर सडकको मुलघाट गणेशचोक खण्डको सबैभन्दा उत्तरमा पर्ने हेंवा खोलामा पुल निर्माणका लागि डिजाइन मात्रै बनेको छ । हेंवा खोलामा पुल तथा डाइभर्सन नहुँदा फिदिमबाट छोटो दूरीमा जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका विभिन्न वडा तथा यो बाटो हुँदै ताप्लेजुङ जाने यात्रु मर्कामा परेका छन् । यहाँ ४० मिटर लामो पुल निर्माण गर्नुपर्ने डिजाइन बनेको छ ।
बाढीले हेंवा खोलामा कोरिडोरको करिब एक किलोमिटर सडक क्षतिग्रस्त बनाएको छ । यहाँ सडकको मार्ग परिवर्तन गर्नुपर्ने भएकाले पुल निर्माणमा ढिलाइ भएको पुल सेक्टर कार्यालय धरानका प्रमुख सिडिई दीपक झाले जानकारी दिए ।
तमोर कोरिडोरमा पर्ने बघुवा खोला पुलको ठेक्का स्वामीनारायाण आशिर्वाद जेभीले लिएको छ । जसको अवधि आगामी वैशाक २९ मा सकिने भए पनि काम नै सुरु हुन सकेको छैन । जसको लम्बाइ ४० मिटर रहेको छ ।
स्वामीनारायाण आशिर्वाद जेभीले नै ठेक्का लिएको खम्बुवा खोला पुलमा भने ४० प्रतिशत भौतिक प्रगति देखिएको छ । यहाँ ३८ प्रतिशत वित्तीय प्रगति भएको पुल सेक्टर कार्यालय धरानले जनाएको छ । यस पुलको लम्बाइ पनि ४० मिटर नै रहेको छ ।
सोही निर्माण कम्पनीले ठेक्का लिएको रघुवा खोला पुलमा १५ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख झाले जानकारी दिनुभयो । उहाँका अनुसार यस पुल निर्माणको ठेक्काको अवधि पनि आगामी वैशाख २९ गतेसम्म रहेको छ । यस पुलको लम्बाइ १५० मिटर रहेको छ । बघुवा, खम्बुवा र रघुवा खोला पुलको कूल लागत रु २२ करोड ५२ लाख ७५ हजार ७९० रहेको छ ।
यही असोज २७ गते म्याद समाप्त हुन लागेको छरुवा खोला पुल निर्माणमा हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छभने ४७ प्रतिशत वित्तीय प्रगति भएको छ । यस कार्यको ठेक्का लुम्बिनी–रौताहा–खानी जेभीले लिएको छ । छरुवा खोला नामजस्तै धेरै भङ्गालो फाटिएको खोला हो । जसमा निर्माणाधीन पुलको लम्बाइ १६५ मिटर रहेको छ । जुन यस कोरिडोरमा निर्माण हुने सबैभन्दा लामो पुल भएको झाको भनाइ छ । यस पुल निर्माणको कूल लागत रु १७ करोड २३ लाख ७९ हजार ५४० रहेको छ ।
पानीको मात्रा ठूलो भएका कारण यात्रुहरूलाई सधैँ दुःख दिइरहेको नावा खोलामा पुल निर्माणको हालसम्म भौतिक प्रगति ३० प्रतिशत मात्रै छ । शर्मा सगुन जेभीले ठेक्का लिएको यो पुल निर्माण सम्झौताको म्याद भने ०८३ साल फागुन १२ गतेसम्म छ । नावा खोलामा निर्माणाधीन पुलको लम्बाइ १५० मिटर रहेको छ । यहाँ पुलका पिल्लर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
तर सोही कम्पनीले सोही समयभित्र सम्पन्न गर्ने गरी ठेक्का लिएका लखुवा खोला र लोरिपा खोलामा भने निर्माणको काम नै सुरु हुन सकेको छैन । लखुवा खोला पुलको लम्बाइ १५० मिटर र लोरिपा खोला पुलको लम्बाइ २० मिटर रहेको छ । लखुवा, लोरिपा र हेंवा खोला पुलको कुल लागत रु ३७ करोड २१ लाख ५३ हजार ६४० रहेको पुल सेक्टर कार्यालयका प्रमुख झाले जानकारी दिए ।
बजेट अभावका कारण आफूहरूले निर्माण व्यवसायीलाई दबाबमा राखेर काम लगाउन नसकेको झाको भनाइ छ । उनका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मै निर्माण व्यवसायीले पाउनुपर्ने करिब रु चार करोड रकम अझैसम्म निकासा हुन सकेको छैन । “गत आवकै केही रकम हामीले निकासा दिन सकेका छैनौँ”, कार्यालय प्रमुख झाले भने, “रकमान्तर भएर बजेट थप गर्ने कुरा थियो । तर भनेअनुसार भएन ।”
बजेट कम भएका कारण कार्यालयले ठेक्का परिचालन गर्ने बजेट उपलब्ध गराउन नसक्दा निर्माण व्यवसायीले काममा ढिलासुस्ती गरेका हुन् । तर यसको मार भने यात्रुले खेप्दै आएका छन् । विशेषत पाँचथर–धनकुटा सीमावती नावा खोलामा चैतदेखि कात्तिकसम्म पानीको बहाव घटबढ हुने गर्दछ । जसकारण सवारीसाधनको नियमित आवागमन प्रभावित हुने गरेको छ ।
तमोर कोरिडोर सडक योजना कार्यालयका सूचना अधिकारी जयराम अधिकारी सडक बाह्रै महिना सवारी सञ्चालनयोग्य भए पनि पुल निर्माण नहुँदा यात्रुहरूले समस्या भोग्नुपरेको बताउँछन् । “सडक त बाह्रैमास सञ्चालन गर्न योग्य भएको छ । अब पुल निर्माणमा ढिलाइ हुनुभएन”, अधिकारीले भने ।
प्रतिक्रिया