कोशीमा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना लागू

शनिबार, ११ असोज २०८२

विराटनगर । जेनजी आन्दोलनले निक्कै क्षति बेहोरेको कोशी प्रदेश प्रहरी अहिले चाडपर्व लक्षित सुरक्षामा केन्द्रित भएको छ । 

दसैँ सुरु भइसकेको र तिहार तथा छठ नजिकिँदै गर्दा प्रहरीले विशेष सुरक्षा योजना बनाएर लागू गरेको हो । तर, भौतिक क्षति र मनोबलमा परेको असरकै बीच चाडपर्व शान्तिपूर्ण बनाउन प्रहरी संगठनलाई चुनौती थपिएको छ ।

गत भदौ २३ र २४ गते चलेको आन्दोलनले कोशी प्रदेश प्रहरीलाई अभूतपूर्व क्षति पुर्याएको थियो । अराजक समूहले प्रहरी कार्यालयमा आक्रमण गर्दै आगजनी, तोडफोड र लुटपाट गरेका थिए । त्यस क्रममा ५६ वटा प्रहरी भवन ध्वस्त भए भने ८४ वटा सवारीसाधन जलेका थिए । 

प्रहरीका हतियारसमेत लुटिए । जसमा केही फिर्ता भए पनि धेरैजसो अझै फेला परेका छैनन् । प्रहरीका दजनौं युनिट विस्थापित हुँदा सुरक्षा सेवा प्रवाहमा अवरोध सिर्जना भएको थियो ।

यस्तो पृष्ठभूमिमा प्रहरी अहिले चाडपर्व सुरक्षामा केन्द्रित भएको छ । भिडभाड हुने सार्वजनिक स्थल, मठमन्दिर, बैंक, वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान र शंकास्पद स्थानमा विशेष निगरानी बढाइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा पनि कडाइ गरिएको छ । 

कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार पिकेट, पैदल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती, मोबाइल गस्ती र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले चोरी, झगडा, जुवातास, मादक पदार्थ सेवन, आतसबाजी, पटका, सडक दुर्घटना र महिला–बालबालिकामाथि हुने दुर्व्यवहारलाई मुख्य चुनौतीका रूपमा लिएको छ । 

नागरिकलाई घर छाडेर जानुपर्दा प्रहरी वा छिमेकीलाई जानकारी गराउन, सीसी क्यामेरा जडान गर्न र सतर्कता अपनाउन आग्रह गरिएको छ । एसएसपी पोखरेलले आतसबाजी र पटका बन्द गर्नुपर्नेमा जोड दिँदै यसले त्रास सिर्जना गर्नुका साथै नेपाली मुद्रा विदेशिने स्थिति निम्त्याउने बताए ।

जेनजी आन्दोलनले प्रहरी संगठनलाई भौतिक मात्र नभएर मनोवैज्ञानिक रूपमा पनि कमजोर बनाएको छ । क्षतिग्रस्त युनिटलाई अस्थायी रूपमा राखिएको भए पनि क्रमशः पुरानै अवस्थामा ल्याउने काम भइरहेको प्रवक्ता पोखरेलले जनाए । उनका अनुसार साधन–स्रोतको कमी भए पनि सेवा प्रवाहमा अवरोध नआउने गरी प्रहरी सक्रिय छ ।

प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले चाडपर्वमा अपराध नियन्त्रण र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखिएको बताए । उनका अनुसार प्रदेशका १४ जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । भारतसँग सीमा जोडिएका नाकामा पनि प्रहरी र त्यहाँका काउन्टरपार्टबीच समन्वय गरेर यात्रुको सुरक्षामा ध्यान दिइएको छ ।

डीआईजी कार्कीले नागरिकलाई सचेत हुन आह्वान गर्दै भने, ‘चाडपर्व रमाइलोको समय हो । तर, संयमित र सुरक्षित हुनुपर्छ । शंकास्पद गतिविधि देखेमा तत्काल प्रहरीलाई खबर दिनुपर्छ । हामी शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिन प्रतिबद्ध छौं ।’

आन्दोलनपश्चात् क्षतिग्रस्त संरचना र साधन–स्रोतको अभावकै बीच प्रहरी संगठनलाई चाडपर्वमा प्रभावकारी सुरक्षा दिर्नैपर्ने दायित्व थपिएको छ । यसपालीको दसैं, तिहार र छठ रमाइलोका लागि मात्रै नभएर प्रहरीलाई नागरिकको भरोसा पुनःस्थापना गर्ने अवसरका रूपमा पनि रहने विश्वास गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार