चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

शनिबार, ११ असोज २०८२
सांकेतिक फाईल

काठमाडौं : नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिसकेको र सबै गरेर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । 

“भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि शान्तिसुरक्षा अमनचयन कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वय र नागरिकसँग हातेमालो गर्दै सुरक्षाको प्रबन्ध गरेका छौँ । सम्भावित जोखिम क्षेत्रसमेत पहिचान गरी विशेष निगरानी बढाइएको छ”, उनले भने ।

प्रवक्ता घिमिरेका अनुसार आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिने छभने सादा पोसाकमा प्रहरी परिचालन हुनेछन् । काठमाडौँ उपत्यकामा मात्रै छ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने र आवश्यकताअनुसार थप जनशक्ति परिचालन हुने गरी तयारी गरिएको छ ।

मुख्यगरी सवारीसाधनको आवागमन सहज बनाउने तथा चाडपर्वमा हुने भेला, जमघटमा मदिरा खाएर होहल्ला, झगडा गर्ने तथा चोरी तस्करीलगायत आपराधिक घटना बढी हुने भएकाले त्यसतर्फ विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ । 

यस्तै, कालोबजारी र तोकिएभन्दा बढी सावारी भाडा लिनेलगायत गतिविधिको पनि निगरानी भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार