महिला फुटबलका लागि सानो गौचरनमा समर्पित ट्रेनिङ ग्राउन्ड र मिनी रंगशाला बन्ने

शनिबार, ११ असोज २०८२

काठमाडौं : पछिल्ला वर्षहरूमा उल्लेखनीय सफलता हासिल गर्दै आएको महिला फुटबलका लागि काठमाडौं महानगरपालिकाले समर्पित ट्रेनिङ ग्राउन्ड र मिनी रंगशालाको निर्माण कार्य सुरु गरेको छ ।

काठमाडौं महानगरपालिका–५ को सानो गौचरनको जग्गामा निर्माणाधीन रंगशालाको पुनःनिर्माण कार्य धमाधम भइरहेको महानगरले जनाएको छ । करिब १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँको लागतमा शुभ कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी लिएको छ । निर्माण कार्य २०८२ साल चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

महानगरका मेयर बालेन साहका अनुसार, स्टेडियममा ९६ मिटर लामो र ६२ मिटर चौडाइ भएको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहित कृत्रिम घाँस राखिनेछ । साथै मैदान वरिपरि सिमाना पर्खाल निर्माण गरिनेछ ।

रंगशाला परिसरमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा दुई पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ सुविधा हुने छ । साथै भुइँ तलामा महिलाका लागि २३ र पुरुषका लागि १६ वटा शौचालय बनाइने छन् । पहिलो तलामा भने महिलाका लागि ७ र पुरुषका लागि ५ वटा शौचालय रहनेछन् ।

काठमाडौं महानगरपालिकाले विद्यालय र सार्वजनिक स्थानका खेलमैदानहरूको स्तरउन्नतिमा विशेष ध्यान दिँदै आएको छ । महिला फुटबललाई अझ व्यवस्थित बनाउन कम्तीमा वर्षभरि खेल्न सकिने आधुनिक सुविधा सम्पन्न प्रशिक्षणमैदान बनाउने दीर्घकालीन योजनाअनुसार सानो गौचरनमा रंगशाला पुनःनिर्माण भइरहेको महानगरले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार