बाढी–पहिरो र आन्दोलनको क्षतिपूर्तिका लागि कोशी सरकारद्वारा २५ प्रतिशत बजेट कटौती

सोमबार, २७ असोज २०८२

विराटनगर। कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले कार्यान्वयनमा नल्याउने गरी सो बजेट रकम रोक्का गर्ने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार २५ प्रतिशत बजेट कटौती गरी जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त सरकारी कार्यालयहरू पुनर्निर्माण गर्न र हालै आएको बाढी–पहिरोले भएको क्षतिको पुनर्निर्माणमा खर्च गर्ने तयारी गरिएको हो। उनले ती बजेट रकम पुनर्निर्माण र राहत प्रयोजनका लागि प्रयोग गर्न निर्णय गरिएको जानकारी दिए।

भण्डारीका अनुसार गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालय, सवारीसाधन र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो। त्यस्तै केही दिनअघि आएको बाढी र पहिरोका कारण प्रदेशका विभिन्न स्थानमा संरचनागत क्षति पुगेपछि तत्काल पुनर्निर्माणका लागि स्रोत परिचालन गर्न बजेट कटौती गरिएको हो।

सोही बैठकले प्रदेशका दुई मन्त्रालयमा सचिव सरुवासमेत गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्यलाई र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा प्रदेशका एघारौँ तहका इन्द्र सापकोटालाई खटाइएको छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार अब कटौती गरिएको रकम विपद्‌पछिको पुनर्निर्माण र क्षतिपूर्ति प्रयोजनका लागि मात्र प्रयोग गरिनेछ। कोशी सरकारका अनुसार बजेट पुनःसंयोजनसँगै पुनर्निर्माणका कामलाई तीव्ररूपमा अघि बढाइने तयारी भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार