रौतहट । दिपावाली र छठ पर्वका लागि आवश्यक सामग्री किन्नका लागि सीमापारिको भारतीय बजारमा नेपाली सेवाग्राहीको चहलपहल बढेको छ । तर, सीमावारि नेपाली बजार भने सुनसान जस्तै बनेका छन् ।
दैनिक उपभोग्य खाद्यान्न सामग्री, लत्ताकपडा भाँडा वर्तन लगायतका सामग्रीहरू नेपालमा भन्दा भारतीय बजारमा सस्तो पाइने भएपछि नेपाली सेवाग्राहीको चाप भारतीय बजारमा बढेको हो । आफ्ना दैनिक आवश्यकताको वस्तु किनमेलका लागि गौरका अधिकांश नागरिक बरगैनिया बजार जाने चलन बढ्दो छ ।
गौर स्थानीय अमित केशरीका अनुसार पर्वको समयमा नेपाल र भारतको सिमामा सवारीको जाम नै हुने गर्छ । यो समयमा नेपालको बजार सुनसान र भारतिय बजारमा सर्वसाधारणको किनमेलका लागी भिड हुन्छ उनले भने । नेपाली बजार भन्दा समानको मूल्य करीब आधा मूल्य नै सस्तो पार्ने उनको भनाइ छ । चाडपर्वमा आवश्यक पर्ने चिनी, मैदा, तेल लगायतको सस्तो रहेको र अन्य समानको मूल्य पनि १० देखि ३० रुपैयाँ सम्म सस्तो पर्ने उनले बताए ।
यहाँका स्थानीयहरू दिनहुँ उपभोग गर्ने खाद्यान, लत्ताकपडा, भाँडा वर्तन, विवाह, श्राद्ध लगायत सामाजिक कार्य तथा भोजभतेर, चाडपर्वमा चाहिने किनमेलका लागि भारतिय बजारमा नै निर्भर रहने गरेको पाईन्छ । यसले दैनिक रूपमा नेपाली रुपैयाँ भारत बाहिरिने क्रम र परिमाण अप्रत्याशित रुपमा बढेको छ ।
भारतिय बजारले गर्दा नेपाली व्यापारीहरु निकै मर्कामा परेको रौतहट उद्योग वाणिज्य सङ्घले जनाएको छ । स्वदेशी व्यापार प्रवर्द्धन नहुँदा यहाँबाट बर्षौनी नेपाली मुद्रा विदेसिएको संघको बुझाई छ ।
भारतिय बजारबाट कतिपयले तस्करीको माध्यमबाट नेपालमा सामन भित्राउने गरेका छन् । विभिन्न नाका भएर राजश्व छलि गरेर भारतिय बजारबाट सामनहरु भित्रिने गरेपछि स्वदेशमा नै उत्पादन भएका सामनहरु सिमावती बासीले खरिद नगर्ने गरेको पाईन्छ । यस बिषयमा सरोकारवाला निकाय गभ्मिर बन्नु पर्ने रौतहट उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
प्रतिक्रिया