काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाको सञ्चालक समितिका तत्कालीन सदस्य तथा पूर्वडिआइजी छविलाल जोशीको मुद्दामा सुनुवाइ जारी रहेको छ । रवि र छवि दुवैले बिगो बराबरको धरौटी राखेर रिहा हुन पाऊँ भनी उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका थिए ।
रवि र छविको मुद्दा उच्च अदालत तुलसीपुरको बुटवल इजलास न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो । रवि र छविनको दुवै मुद्दा एकैसाथ राखेर हेरिएको छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा रविले आफ्नो दायित्वमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर छाड्न माग गरी जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए । उक्त निवेदन जिल्ला अदालतले बदर गरिदिएपछि उनी उच्च अदालत पुगेका हुन् ।
उच्च अदालतले यसअघि रविको मुद्दामा कैफियत प्रतिवेदन मागेको थियो । रवि र छवि दुवै जना हाल मुद्दाको पुर्पक्षका क्रममा कारागारमा छन् ।
प्रतिक्रिया