बिर्तामोडमा काटिएका विकास योजना तत्काल कार्यान्वयन गर्न एमालेको माग

विहीबार, २० कार्तिक २०८२

झापा  : नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरपालिकामा परेका काटिएका विकास योजनाहरू तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

बिर्तामोडमा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत एमाले नगर कमिटीले भदौ २३ र २४ गतेको जेन (जी) आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो सरकारले रातो किताबमा समावेश गरेका योजनाहरू कटौती गरेको भन्दै तत्काल रोक्न माग गरेको हो।

पत्रकार सम्मेलनमा नगर कमिटी अध्यक्ष सुवास भट्टराईले काटिएका योजनाहरूको विस्तृत विवरण प्रस्तुत गर्दै करिब ५० करोड रुपैयाँभन्दा बढीका विकास योजना कटौती गरिएको जानकारी दिए।

भट्टराईका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका प्रमुख योजनाहरूमा — बिर्तामोड रिङरोड निर्माणमा ४ करोड, बिर्तामोड–गोलधाप–सुन्दरपुर सडक (वडा नं. १०) मा ३ करोड, शहीद नेत्रमार्ग (वडा नं. ९) मा ४ करोड, सैनिकमोड–तेलकानी पोखरी जाने सडक (वडा नं. ३ र १०) मा ३ करोड, जिराइतटोल सडक स्तरोन्नति (वडा नं. ५) मा ३ करोड, झापा–मिनाचोक–उखुबारी भुतेनी पुल–भवानीमार्ग (वडा नं. १०) मा ३ करोड, र झापा क्षेत्र नं. २ चक्रपथ स्तरोन्नति (बिर्तामोड खण्ड) मा ८ करोडसहित करिब २८ करोड रुपैयाँका योजना काटिएका छन्।

त्यस्तै, सहरी विकास मन्त्रालय अन्तर्गतका योजनाहरूमा हर्चना पुल उत्तर खोलामा ७ कि.मी. तटबन्ध निर्माणका लागि विनियोजित ३ करोड, सैनिकमोड–तेलकानी पोखरी सडक, डिजाइनर फर्निचर नजिकको सडक, मोहनमाया मावि भवन, देउनियाँ–घैलाडुब्बा सडक, देउनियाँ पुल–मसलेटोल–बिर्तामोड–७ सडक, र मण्डामार्ग कालोपत्रे गर्न छुट्याइएको रकमसहित दर्जनौँ योजना बजेटबाट हटाइएको भट्टराईले बताए।

पत्रकार सम्मेलनमा एमालेले हालैको बेमौसमी वर्षातका कारण सयौँ विगाहामा लगाइएको धानबालीमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तीनै तहका सरकारलाई किसानलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेको छ।

त्यसैगरी, अध्यक्ष भट्टराईले जेन (जी) आन्दोलनका क्रममा सरकारी, निजी तथा सार्वजनिक सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण सङ्कलन गरी क्षतिपूर्ति प्रदान गर्न र घटनामा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे।

कार्यक्रममा राष्ट्रिय सभा पूर्वसदस्य हरिचरण शिवाकोटी, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नं. ३ का अध्यक्ष मदन बुढाथोकी, एमाले केन्द्रीय सदस्य अमृतलाल राजवंशी, नगर इञ्चार्ज अम्बिर लिङ्देनलगायत एमाले नेताहरूको उपस्थिति थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार