कांग्रेसमा अल्पमतको रजाई, तत्काल महाधिवेशन गर्ने सोचमा छैनन् पूराना नेता

शुक्रबार, २१ कार्तिक २०८२

काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक आन्तरिक किचलोले रन्थनिएको छ। विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा पदाधिकारीहरू विभाजित भएका छन्।

मंगलबारको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापा र संस्थापन समूहका नेता सहमहामन्त्री महेन्द्र यादवले फरक–फरक प्रस्ताव पेस गरेका थिए। महामन्त्री थापाले १६ देखि १९ पुससम्म महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्। सहमहामन्त्री यादवले आगामी वर्षको २७ वैशाखबाट महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन्।

तर, कार्यवाहक सभापति पूर्णबहादुर खड्का महाधिवेशनसम्बन्धी कार्य तालिका व्यक्तिगत भएको बताउँछन्। केन्द्रीय समिति बैठकमा बुधबार कार्यवाहक सभापति खड्काले महाधिवेशनसम्बन्धी पेस भएको दुई वटा कार्यतालिका व्यक्तिगत भएको बताएका हुन्।

खड्कालाई उदृत गर्दै केन्द्रीय सदस्य गुरु बरालले भने, ‘दुई वटा कार्यतालिका पार्टीको भन्दा पनि व्यक्तिगत रुपमा आएका हुन्। जिम्मेवारी र भूमिका केन्द्रीय सदस्यहरूले गरे। सहमहामन्त्रीले गरे। त्यो व्यक्तिगत कार्यतालिका हुन् भनेर पार्टीको कार्यवाहक सभापतिले भनिसक्नुभएको छ।’

त्यस्तै, उनले देश साच्चै अप्ठ्यारोमा भएको बेला सरकारले निर्वाचन घोषणा गरेको भन्दै त्यो निर्वाचनबाट कांग्रेस भाग्यो भने निर्वाचन हुन नसक्ने बताए। कांग्रेसले निर्वाचनमा भाग लिएर मूलुकलाई स्थिरतातिर लैजाने उनको भनाई छ।

यस्तै कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले त महामन्त्री गगनकुमार थापालाई सभापति र प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जान प्रस्तावसमेत गरेका छन्। बुधबारको बैठकमा धारणा राख्दै उनले थापालाई प्रधानमन्त्री र सभापतिको रुपमा प्रस्ताव गरेर निर्वाचनमा जानुपर्ने बताएका हुन्।

‘अहिले पनि आम जनताको चाहना र पार्टीभित्र प्रभावअनुसार पनि आउने संघीय निर्वाचनमा गगन थापालाई प्रधानमन्त्री प्रस्ताव गरेर जाने निर्णय यो केन्द्रीय समितिले लिनुपर्छ। म कुरा लुकाउने मानिस होइन। गगन थापा सभापति र प्रधानमन्त्री भए राम्रो हुन्छ भनेर मानिसहरूले भनेका छन्,’ उनले भने, ‘उनी १४ औं महाधिवेशनमा पनि धेरै मतसहित महामन्त्री जितेका हुन्। अहिले उनकै पहल र प्रयासमा ५४ प्रतिशतले विशेष महाधिवेशन गर्न हस्ताक्षर पनि गरेको अवस्था छ। त्यसैले आउने चुनावमा गगन थापालाई प्रधानमन्त्री उम्मेदवार र सभापति बनाएर नयाँ नेताको नेतृत्वमा प्रतिनिधि सभा चुनावमा पार्टी जान केन्द्रीय समितिले निर्णय गरेर जानुपर्छ।’

कार्यबहाक सभापति प्रतिनिधिसभाको चुनावअघि महाधिवेशनको पक्षमा नदेखिए पनि अधिकांश पदाधिकारी भने चुनावअघि नै कांग्रेसको महाधिवेशन हुनुपर्ने अडानमा छन्। कांग्रेसमा एक सभापति, दुई/दुई उपसभापति र महामन्त्री, ८ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी १४ पदाधिकारी छन्।

सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिएका छन्। उनी उपचारका लागि सिंगापुर पुगेका छन्।

जारी केन्द्रीय समितिमा १३ जना पदाधिकारी सहभागी छन्। तीमध्ये चुनावअघि नै १५औं महाधिवेशन गर्नुपर्ने पक्षमा एक उपसभापति, दुई महामन्त्री र ४ सहमहामन्त्री गरी ७ जना पदाधिकारी उभिएका छन्।

उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू जीवन परियार, बद्री पाण्डे, फरमुल्लाह मन्सुस र भीष्मराज आङदेम्बे २१ फागुनको चुनावअघि नै १५औं महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्।

अर्कोतर्फ कार्यवाहक सभापति खड्का, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, महेन्द्र यादव, किशोरसिंह राठौर, उमाकान्त चौधरी र कोषाध्यक्ष उमेश श्रेष्ठ गरी ६ जना पदाधिकारी चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। फागुन अघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा डा. शेखर कोइराला पनि अडिग छन्।

केही केन्द्रीय सदस्यले भने विशेष महाधिवेशनमा गएर पार्टीलाई एकढिक्का बनाउनुपर्ने धारणा राखेका छन्। महाधिवेशनका विषयमा एउटै प्रस्ताव पारित गर्ने गरि सहमतिको प्रयास भइरहेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

आज मात्रै कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो सुधारका साथै शुद्धीकरण र पुनःजागरण गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस स्थापनाकालदेखि समाज रुपान्तरणका लागि गरेको संघर्षमाथि प्रश्न उठ्न थालेको भन्दै पार्टीभित्र शुद्धीकरण र पुनःजागरणको आवश्यकता रहेको बताएका हुन्।

उनले भने, ‘अब हामी बोलेर मात्र हुँदैन ठूलो सुधार चाहिएको छ। त्यो सुधार पार्टी भित्र हुन्छ। पार्टी भित्र के गर्छौ के गर्दैनौ शुद्धीकरण कसरी गर्छौ, पुनःजागरण कसरी गर्छौ ? र शुद्ध भएको जागरित भएको पार्टीले सरकारका काममा कसरी सुधार ल्याउछ?’

नेता थापाले जेनजी आन्दोलनमार्फत युवाहरुले नेपाली कांग्रेसको मूल्य–मान्यता अनुरुप व्यवहार कार्यशैली नभएको भनी प्रश्न उठाएको बताए। थापाले विगतमा गल्ती गरेको स्वीकार गर्दै अब अविधेशनबाट नयाँ संकल्प र योजनाहरु बनाउनुपर्ने बताए।

‘हिजो हामीले पनि गल्ती र कमजोरी गर्यौ। अव नगर्ने के छ ? भ्रष्टाचारको कुराबाट समाजलाई वा संस्थाहरुलाई कसरी अलग गर्छौ ? तमाम् विषयहरुका सन्दर्भमा हामीले आफूले हाम्रो अविधेशनबाट संकल्प गर्नुपर्नेछ, हाम्रो योजनाहरु बनाउनुपर्नेछ,’ उनले भने। केन्द्रीय समिति बैठक जारी रहँदा महामन्त्रीको यस अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार