जेनजी आन्दोलनमा लुटिएको ५४ राउन्ड गोली, प्रहरीको बुट सहित झापाबाट २ जना पक्राउ

बुधबार, २६ कार्तिक २०८२
तस्बिर : फाइल

इटहरी । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक घरमा प्रहरीले लुटिएका गोलीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार लागुऔषध ब्युरो इकाई काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले बुधवार दिउँसो बिर्तामोड–२ रामचोकमा डेरा गरी बसेकी ऐ. बाह्रदशी गाउँपालिका–४ चकचकीकी २७ वर्षीया इस्रप खातुनको कोठामा लुटिएका गोलीहरू फेला पारेको हो।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको हातहतियारका गोलीहरू खातुनको कोठाबाट बरामद गरिएको प्रहरीको भनाइ छ। बरामद सामग्रीमा SLR का ३८ राउण्ड, INSAS का १६ राउण्ड, काँसको थाल १ वटा, करुवा १ वटा, पित्तलको गिलास १ वटा र प्रहरीको बुट १ जोर रहेका छन्।

उक्त घटनामा संलग्न झापा बिर्तामोड नगरपालिका–२ रामचोकका २२ वर्षीय बिकाश टुडुलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुबैजनालाई बरामद सामानसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार