मोरङ : आसन्न निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौतीका रूपमा रहेको निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले बताएका छन्।
आयोगले आजदेखि निर्वाचन लक्षित गरी विराटनगरमा सुरु भएको दुई दिने प्रतिनिधिसभा निर्वाचनका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन अधिकारीका लागि ‘सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण’ कार्यक्रममा सचिव राउतले आगामी फागुन २१ गते हुने निर्वाचनमा भौतिकसँगै डिजिटल ‘प्लेटफर्म’हरू नियन्त्रण गर्नु प्रमुख चुनौतीका रूपमा देखिएको बताएका हुन्।
राउतले निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जाल अहिलेको प्रमुख सञ्चरमाध्यम बनिरहेका बेला यसपटकको निर्वाचनमा ती सञ्जालबाट फैलाइने मिथ्या सूचनाले पार्नसक्ने असरप्रति आयोग सचेत भई कार्य गरिरहेको जानकारी दिए । राउतले भौगोलिकसँगै सामाजिक सञ्जालमार्फत गलत सूचना र अफवाह फैलाउने प्रवृत्ति निर्वाचनमा हुनसक्ने भएकाले यसतर्फ सबैलाई सचेत रहन आग्रह समेत गरे ।
सामाजिक सञ्जालबाट आउन सक्ने समस्या समाधानका लागि नेपाली सेना, नेपाल प्रहरी, दूरसञ्चार प्राधिकरणको आइटीको समूहले आयोगमा बसेर काम गरिरहेको सचिव राउतले जानकारी गराए । उनले सामाजिक सञ्जाल फेसबुक र एक्ससँग गलत सूचना सम्प्रेषणहरू रोक्नका लागि आग्रह गरिएको पनि बताए ।
आयोगका सचिव राउतले निर्वाचन कार्यक्रमअन्तर्गत माघ २ गते निर्वाचन अधिकृत कार्यालयको स्थापना हुने जानकारी गराउदै जिल्ला निर्वाचन कार्यालयलाई ३७ प्रकारका निर्वाचन सामग्री खरिदका लागि अख्तियारी दिइसकिएको बताए । उनले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका लागि बजेट स्वीकृत भइसकेको समेत उल्लेख गरे ।
कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडलले आगामी निर्वाचनमा सामाजिक सञ्जाल मुख्य चुनौतीका रूपमा देखिएको बताए । निर्वाचनका लागि प्रदेश सुरक्षा कमाण्ड पोष्टका अध्यक्षसमेत रहनुभएका उनले प्रदेशको भूगोल, खुल्ला सिमाना, अवैध सवारीसाधनको प्रयोगसँगै सामाजिक सञ्जाल पनि निर्वाचन सुरक्षाको चुनौती बनेको धारणा राखे ।
दुई दिने अभिमुखी कार्यक्रममा प्रतिनिधिसभा निर्वाचनः संवैधानिक तथा कानुनी व्यवस्था र निर्वाचन कार्यक्रम, निर्वाचनका विविध पक्ष लगायतका विषयका कार्यपत्र प्रस्तुत गरिने जनाइयो ।
अभिमुखी कार्यक्रममा कोशी र मधेस प्रदेशका केही जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीको सहभागिता रहेको छ । कोशी प्रदेशमा प्रतिनिधिसभाको २८ निर्वाचन क्षेत्र रहेकामा आगामी निर्वाचनका लागि एक हजार ९०७ मतदानस्थल र चार हजार २७० मतदान केन्द्र कायम गरिएको छ । प्रदेशमा सबैभन्दा बढी मतदानस्थल मोरङमा ३०६ र सबै भन्दा कम तेह्रथुममा ५६ रहेका छन् । प्रदेशमा कूल ३५ लाख ७४ हजार ३१० मतदाता छन् ।
प्रतिक्रिया