काठमाडौँ : नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न लचकताका साथ संवादको ढोका खुला रहेको बताएका छन् ।
सभापति शेरबहादुर देउवाको निवास महाराजगन्जमा आज भएको पदाधिकारी, पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी एकता कायम राख्न निरन्तर संवाद भइरहेको जानकारी दिए ।
नेता कार्कीका अनुसार छलफलमा पार्टीलाई एकजुट बनाएर मुलुकलाई अहिलेको सङ्कटबाट मुक्त गर्दै जनताको चाहनाअनुसार काँग्रेसलाई अघि बढाउनुपर्नेमा सबैको जोड रहेको थियो ।
पार्टीभित्र देखिएका मतभेद समाधान गरी एकताबद्ध रूपमा राजनीतिक जिम्मेवारी पूरा गर्नुपर्ने निष्कर्षमा छलफल केन्द्रित भएको उनले बताए ।
यसैगरी केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विभाजन रोक्न हदैसम्म लचक भएर संवाद गर्ने विषयमा छलफल भएको जानकारी दिए ।
विशेष महाधिवेशन पक्षधर नेताहरूसँग समेत निरन्तर संवाद भइरहेको उल्लेख गर्दै उनले पार्टी एकता जोगाउने प्रयासलाई प्राथमिकतामा राखिएको बताए ।
प्रतिक्रिया