बैतडी : बैतडीको साडीघाटीमा जिप दुर्घटनामा मृत्यु हुनेको सख्या चार पुगेको छ । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ साडीघाटीमा विहान ११ बजेतिर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको हो ।
डडेल्धुरा अस्पतालमा उपचारको क्रममा घाइते सिगास गाउँपालिका वडा नम्बर १ की बसन्ती ऐरको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहले जानकारी दिए ।
मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा परेर सिगास गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय निशान्त बोहरा, सोही ठाउँका २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त दुर्घटनामा बैतडीको सिगास गाउँपालिका वडा नम्बर १ की वर्ष १९ की बिमला ऐर, सोही ठाउँकी चार वर्षीया प्रन्सा ऐर, दुधिलाखान बस्ने वर्ष २८ का गणेश विष्ट (चालक), बैतडी पाटन नगरपालिका वडा नम्बर ८ का वर्ष २५ की कमला विष्ट, सिगास गाउँपालिका वडा नम्बर १ का वर्ष २५ का लालमणि बोहरा र डडेल्धुरा आलिताल गाउँपालिका वडा नम्बर ३ का वर्ष ३२ को वीरेन्द्र बोहरा घाइते भएका छन् । घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया