योगेन्द्र मण्डलले खोले पार्टी, ठूला दलको विकल्प बन्ने लक्ष्य

विहीबार, २७ कार्तिक २०८२

विराटनगर । योगेन्द्र मण्डल, मोरङ क्षेत्र नम्बर ५ बाट २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए । ग्रामीण क्षेत्रमा सामाजिक कार्य गर्दै आएका मण्डलले  ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ दर्ता गरेका छन् । यो निर्णय उनले आफ्ना मतदाताहरूसँगको  छलफलपछि लिएको बताएका छन्, जहाँ ९० प्रतिशतभन्दा बढी मतदाताले नयाँ पार्टी गठन गर्न सुझाव दिएका थिए ।

मण्डलका अनुसार उनको पार्टी नेपालका अन्य राजनीतिक दलहरूभन्दा फरक हुनेछ । उनले आफ्नो पार्टीको नियत, नीति र व्यवहार देश र जनताप्रति पूर्ण रूपमा समर्पित रहने स्पष्ट पारेका छन् । राजनीतिलाई काम नभई सेवाका रूपमा बुझ्ने उनको दृष्टिकोण छ ।

नेपालका अधिकांश दलहरू नाममा मात्र लोकतान्त्रिक रहे पनि व्यवहारमा भने ती व्यक्तिवादी भएको र अध्यक्षको निर्णय सबैले मान्नैपर्ने बाध्यता रहेको उनको आरोप  छ । 'राष्ट्रिय ऊर्जाशील पार्टी' ले भने सबैको भावना समेट्ने र व्यावहारिक रूपमा लोकतान्त्रिक पार्टी बन्ने लक्ष्य राखेको छ ।

समानुपातिक निर्वाचन प्रणालीको मर्मलाई व्यवहारमा उतार्न उनको पार्टीले विशेष वैधानिक व्यवस्था गर्नेछ । पार्टी विधानअनुसार, पार्टी अध्यक्ष वा केन्द्रीय सदस्यका परिवारका तीन पुस्तासम्मका सदस्यहरूले समानुपातिक सूचीमा नाम चढाउन पाउने छैनन् ।  यसका साथै, प्रत्यक्ष निर्वाचनमा लडेका वा कुनै पदमा रहेका व्यक्तिहरूलाई पनि समानुपातिकमा अवसर दिइने छैन । समानुपातिकमा दलित र सीमान्तकृत समुदायका अति विपन्न व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ । सदनमा गएर आफ्नो समुदायको प्रतिनिधित्व गर्दै कानुन निर्माणमा भूमिका खेल्न सक्षम हुनका लागि महिलाका लागि कम्तीमा प्लस टु र पुरुषका लागि स्नातक उत्तीर्ण हुनुपर्ने शैक्षिक मापदण्ड पनि तोकिएको छ ।

शासकीय स्वरूपका विषयमा पार्टीले राष्ट्रिय स्तरमा छलफल चलाएर जनताको राय बुझ्ने मण्डलले बताएका छन् । उनले प्रदेश संरचना आफैँमा नराम्रो नभए पनि त्यसको सदुपयोग हुन नसकेकाले बोझिलो देखिएको तर्क गरेका छन् ।  असल नियत र सक्षम नेतृत्व भएमा धेरै संरचनाले रोजगारी सिर्जना गरी सेवा प्रवाहलाई अझ राम्रो बनाउन सकिने उनको विश्वास छ । 

'नेपालवाद' लाई आफ्नो पार्टीको मूल सिद्धान्तका रूपमा अघि सार्दै, मण्डलले संसारका कुनै पनि सिद्धान्तलाई जस्ताको तस्तै नमान्ने तर तीबाट सन्दर्भ लिने बताएका छन् । उनका अनुसार, माओवादीले माओको सिद्धान्त, एमालेले माक्र्सवादी लेनिनवादी सिद्धान्त र बीपीको कृषिमा आधारित सिद्धान्त पनि अहिलेको युगमा पर्याप्त छैनन् । उनको पार्टीले संसारका उत्कृष्ट अभ्यास र सिद्धान्तहरूलाई सन्दर्भका रूपमा लिने तर आफ्नो बाटो भने नेपाली हुने बताएका छन् । 'नेपालवाद' नेपालीको क्षमतामा आधारित एक मौलिक सिद्धान्त हुनेछ।

नेपालको राजनीति सिद्धान्त वा व्यवहारमा नभई व्यक्तिमा टिकेको मण्डलको भनाइ छ। उनले पुराना दलहरूको औचित्य नसकिएको तर उनीहरूले प्रतिनिधित्व गर्ने प्रवृत्ति भने परिवर्तन नभएको उल्लेख गरेका छन्। भ्रष्टाचार नियन्त्रण हुनुको साटो झन् बढेको र सहिदहरूले देशका लागि जीवन दिए पनि अहिले देश भन्दा जीवन ठूलो भन्ने प्रवृत्ति हावी भएको उनको चिन्ता छ ।

सामाजिक क्षेत्रमा सफलता पाएका योगेन्द्र मण्डल राजनीतिलाई पनि समाजसेवा जस्तै एक सेवा मान्छन् । सफल र असफल भन्ने कुराले आफूलाई खासै फरक नपर्ने भन्दै उनले राम्रो नियतले निरन्तर काम गर्दै जाने कुरा महत्त्वपूर्ण रहेको बताएका छन् । उनले आफ्नो राजनीतिक प्रयासको मूल्याङ्कन आउने दिनमा जनता र देशले गर्नेछन् भन्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार