भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

मंगलबार, २९ पुस २०८२

चितवन । देशकै सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ आज भरतपुरमा उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गरे ।

स्थानीय सरकार गठनपछि गौरवको आयोजनाका रूपमा अघि बढाइएको ८८ दशमलव ६ किलोमिटर लामो चक्रपथ निर्माण कार्य सात वर्षअघि सुरु गरिएको थियो । विभिन्न चरणमा सम्पन्न हुँदै आएको सडकको अधिकांश खण्डमा काम पूरा भइसकेको छ भने केही स्थानमा कालोपत्र र अलाइनमेन्ट मिलाउने काम बाँकी रहेको छ ।

उद्घाटन समारोहमा प्रमुख दाहालले स्थानीय तह गठनपछि भरतपुरमा उल्लेखनीय भौतिक विकास भएको बताउँदै चक्रपथलाई महानगरको प्राथमिकताप्राप्त गौरवको आयोजना भएको उल्लेख गरिन् । उनका अनुसार देशकै सबैभन्दा लामो महानगरस्तरीय रिङरोड अब राष्ट्रिय राजमार्ग (एनएच) का रूपमा विकास भइसकेको छ, जसले केन्द्र सरकारको प्राथमिकतामा समेत स्थान पाएको छ ।

संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा अरबौँ रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त चक्रपथ अधिकांश स्थानमा पक्की भइसकेको बताइएको छ । केही स्थानमा व्यवस्थापनका काम बाँकी रहे पनि जनतालाई मर्का नपर्ने गरी सडक विस्तार गरिएको प्रमुख दाहालले बताइन्। सडकको मापदण्ड ३० मिटर कायम गर्ने निर्णयअनुसार वडास्तरका सुझावका आधारमा व्यावहारिक ढंगले काम अघि बढाइएको पनि उनले जानकारी दिइन् ।

आगामी दिनमा चक्रपथलाई दुई लेनमा स्तरोन्नति गर्ने योजना रहेको बताउँदै प्रमुख दाहालले भरतपुरमा भौतिक विकासले ठूलो फड्को मारेको दाबी गरिन् । हजारौँ किलोमिटर सडक कालोपत्र भइसकेको उल्लेख गर्दै अब सामाजिक विकास र रोजगारी सिर्जनालाई प्राथमिकता दिने उनले बताइन् ।

उपप्रमुख चित्रसेन अधिकारीले चक्रपथले भरतपुरको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भौतिक र सामाजिक विकासलाई सँगसँगै अघि बढाउन महानगर निरन्तर लागिपरेको बताए ।

संघीय, प्रदेश र स्थानीय तहको लगानीमा निर्माण भएको उक्त चक्रपथको शिलान्यास २०७५ असार २९ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । महानगरपालिकाका अनुसार चक्रपथ नारायणगढको पुलचोकबाट गोलाघाटसम्म पुग्नेछ भने गोन्द्राङ हुँदै पटिहानी–जगतपुर मार्ग भएर पुनः गोलाघाटमै जोडिनेछ ।

यसैबीच, आजै भरतपुर महानगरको केन्द्र हुँदै बग्ने ३० दशमलव २ किलोमिटर लामो केरुङ्गा खोलाको सौन्दर्यीकरण अन्तर्गत भरतपुर–९ र १२ मा सम्पन्न कामको पनि संयुक्त रूपमा उद्घाटन गरिएको छ । महानगरले केरुङ्गा र पुङ्गी खोलालाई चरणबद्ध रूपमा सौन्दर्यीकरण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार