विराटनगर। कोशी प्रदेशकै उत्कृष्ट सामुदायिक क्याम्पसका रूपमा परिचित मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा चर्चित र्याप गायक स्वर्गीय (अनिल अधिकारी) ‘यमबुद्ध’ को स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ।
यमबुद्ध फाउन्डेशनको पहलमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै स्थापना हुन लागेको उक्त अक्षयकोषका लागि माघ १ गते सांगीतिक साँझ आयोजना गरिने भएको हो। यमबुद्धको स्मृति दिवसको अवसर पारेर आयोजना हुने कार्यक्रमबाट संकलित रकम छात्रवृत्ति कोषमा जम्मा गरिने आयोजकले जनाएको छ।
सुकुना बहुमुखी क्याम्पस परिसरमै हुने सांगीतिक साँझमा चर्चित र्याप गायक भिटेनसहित अन्य कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम संयोजक योगेश दाहालले जानकारी दिए। लागूऔषध विरुद्ध सचेतना फैलाउने उद्देश्यसमेत बोकेको कार्यक्रममा करिब ४ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।
कार्यक्रमस्थलभित्र धूम्रपान, मद्यपान तथा अनुशासनविपरीतका सबै गतिविधि पूर्ण रूपमा निषेध गरिने आयोजकले स्पष्ट पारेको छ। क्याम्पसको उन्नयन र विद्यार्थीको भविष्यसँग जोडिएको कार्यक्रम भएकाले सभ्य र मर्यादित वातावरणमा कार्यक्रम सम्पन्न गरिने जनाइएको छ।
यमबुद्धका बुबा अम्बिकाप्रसाद अधिकारीले कार्यक्रमको उद्देश्य पवित्र रहेको उल्लेख गर्दै सभ्य र अनुशासित ढंगले कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे।
आयोजकका अनुसार कार्यक्रमबाट करिब ३० लाख रुपैयाँ बराबरको आम्दानी हुने अनुमान गरिएको छ। उक्त रकम विभिन्न सामाजिक संघसंस्था, व्यक्ति तथा स्थानीय निकायको सहयोगबाट संकलन गरिने बताइएको छ।
प्रतिक्रिया