जेनजी आन्दोलनमा विराटनगर महानगरलाई झण्डै १ अर्बको क्षति, सेवा भने टेन्टमै जारी

विहीबार, २७ कार्तिक २०८२

विराटनगर : जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकामा झण्डै १ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ । आन्दोलनका क्रममा महानगरको प्रशासनिक भवनदेखि विभिन्न वडा कार्यालयसम्म आगजनी र तोडफोड हुँदा ठूलो धनमाल नोक्सानी भएको हो ।

मेयर नागेश कोइरालाका अनुसार महानगरको भौतिक संरचनातर्फ मात्रै २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरको क्षति भएको छ । यो क्षति वडा नम्बर १ देखि १२ र १९ का कार्यालय र प्रशासनिक भवनमा केन्द्रित रहेको उनले बताए ।

त्यस्तै जिन्सी सामग्रीतर्फ स्काभेटर, शववाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्रीलगायतका सामान जलेर वा नष्ट भएर ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ बराबरको क्षति भएको महानगरले जनाएको छ ।

“यो त भौतिक र जिन्सी क्षतिको मात्र विवरण हो,” मेयर कोइरालाले भने, “सबैभन्दा ठूलो क्षति त जनतासँग सम्बन्धित कागजपत्र नष्ट हुनु हो । घरजग्गा शाखा पूर्ण रूपमा जलेपछि त्यहाँका सबै अभिलेख खरानी भए ।”

हालसम्मको विवरण अनुसार भौतिक संरचना र जिन्सी सामग्रीसहित जम्मा ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । मेयर कोइरालाका अनुसार यसले महानगरको विकास गतिविधिमा प्रत्यक्ष असर पार्ने निश्चित छ ।

आगजनीपछि प्रशासनिक भवनसहित वडा कार्यालयहरूमा सेवा प्रवाह अस्थायी रूपमा टेन्टमार्फत सञ्चालन भइरहेको छ । “बस्ने ठाउँ नहुँदा न्यायिक समितिको इजलाससमेत टेन्टमै बस्दै आएको छ,” उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । उनका अनुसार हरेक सोमबार र बुधबार न्यायिक इजलास टेन्टमै बस्ने गरिएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालका अनुसार अधिकांश सेवा पुनः सुचारु भइसकेका छन् । “प्राविधिक जाँचपछि बस्न योग्य भवनमा रंगरोगन, विद्युत जडान र इन्टरनेट स्थापना भइरहेको छ,” उनले बताए ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा अराजक समूहले विराटनगर महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ का कार्यालयमा आगजनी गरेका थिए, जसमा अधिकांश महाशाखा र अभिलेख खरानी बनेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार