प्रादेशिक अस्पताललाई जग्गा दिने परिवारलाई नगरपालिकाद्वारा सम्मान

मंगलबार, २९ पुस २०८२

लहान : सिराहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताललाई जग्गा दान गर्ने परिवारलाई नगरपालिकाले सम्मान गरेको छ ।

सोमबार आयोजित १७औँ नगरसभामा जग्गादाता परिवारका सदस्यद्वय मुरारीलाल मुरारका र पवनकुमार शारडासहितलाई सम्मान गरिएको हो ।

मुरारीलाल र पवनकुमारसहित दाता परिवारका सजन मुमारका, प्रदीप मुरारका, अमित शारडा, अनिल शारडा र प्रदीप शारडालाई नगरप्रमुख महेशप्रसाद चौधरीले दोसल्ला, खादा र सम्मानपत्रसहित सम्मान गरेका हुन्। IMG_8763

लहानवासीको शिक्षा, स्वास्थ्य सेवाका लागि दाता परिवारले पुर्‍याएको योगदानको सराहना गर्दै उनले भने, ‘गरिब, विपन्न र निमुखा नागरिकले आफ्नो ठाउँमा सुलभ स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले करोडौँ मूल्यको जग्गा दान गर्न जोकसैले सक्दैनन् ।

सम्मानपछि जग्गादाता परिवारका सदस्यद्वय मुरारका र शारडाले आफूहरूले प्राप्त गरेको सम्मान सिंगो लहानवासीको सम्मान भएको बताए । 

अस्पताललाई  करिब १८ करोडको जग्गा दान 
लहानका व्यावसायिक घरानाका दिवंगत रामकुमार शारडा र उमाप्रसाद मुरारकाको स्मृतिमा अस्पताल निर्माणका लागि दुवै परिवारले ०३५ सालमा एक बिघा १५ कट्ठा १० धुर जग्गा दान दिएका दिए ।

जग्गा उपलब्ध गराएसँगै ११ पुस ०३५ सालमा भवन शिलान्यास भई १० माघ ०३९ मा उद्घाटन गरिएको थियो । अस्पतालले चर्चेको जग्गा करिब ४७ वर्षपछि अस्पतालको स्वामित्वमा आएपछि दाता परिवारले १० पुसमा जग्गाधनी दर्ता प्रमाणपूर्जा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका थिए।

गत २९ मंसिरको मन्त्रिपरिषद् बैठकले पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको जग्गाको लाभकर मिनाहा गरिदिएपछि अस्पतालको स्वामित्वमा जग्गा ल्याउने बाटो खुलेको हो ।

बैठकले शारदा र मुरारकाको नाममा रहेको लहान नगरपालिका ७ (क) स्थित कित्ता नं. २४८, २४९, ३२७ र ३३० को एक बिघा १५ कट्ठा १० धुर जग्गा तथा त्यसमा बनेको संरचनासमेत कायम हुुने १७ करोड ९९ लाख ४६ हजार एक सय आठ रुपैयाँ १० पैसा जग्गाधनीहरूले मधेश प्रदेश सरकारको नाममा हस्तान्तरण गर्दा आयकर ऐन, ०५८ बमोजिम लाग्ने लाभकर आर्थिक ऐन, २०८२ बमोजिम छुट दिने निर्णय गरेको थियो ।

यस्तै, ०४४ सालमा तत्कालीन नगर पञ्चायतले २३ बिघा जग्गा व्यवस्थापन गरेपछि मुरारका परिवारले ज्वालप्रसाद स्योबाई मुरारकाको स्मृतिमा २३ कोठे दुईतले विद्यालय भवन निर्माण गरी दिएका थिए ।

उद्योगपति परमेश्वर मुरारकाको अग्रसरतामा स्थापित सामुदायिक क्याम्पसमा न्यून शुल्कमा १०+२ देखि विभिन्न संकायमा स्नातक र स्नातकोत्तर तहसम्म पठनपाठन हुँदै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार