मोरङ। सुन्दरहरैंचा नगरपालिका–१० गछियामा गछिया युवा समाजको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण एनी प्रथम गछिया गोल्डकप–२०८२ मंसिर १५ गतेदेखि सुरु हुने भएको छ। पत्रकार सम्मेलनमार्फत विवरण सार्वजनिक गर्दै आयोजकले प्रतियोगितामा ८ टिम सहभागी हुने र खेलकुदमार्फत समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्य राखिएको जनाएको छ।
“लागू औषधले लिन्छ ज्यान, गछिया समाजको आह्वान—स्वस्थ रहन खेलमा ध्यान” भन्ने नारा सहित सुरु हुन लागेको गोल्डकप लागू औषधविरुद्धको चेतनामूलक अभियानसँगै स्थानीय युवालाई खेलतर्फ आकर्षित गर्ने दीर्घ लक्ष्य राखिएको संयोजक प्रलाद थोप्रा लिम्बुले बताए।
प्रतियोगिता खेलमै सीमित नरही सामाजिक उत्तरदायित्वका कार्यक्रमसहित अघि बढाइने जनाइएको छ। सुन्दरहरैंचा नगरपालिकाका १२ वडाका १२ जना ज्येष्ठ नागरिकलाई विशेष सम्मान गरिने छ भने शारीरिक अपांगता भएका १ पुरुष र १ महिलालाई व्हिलचेयर वितरण गरिने छ। साथै गछिया क्षेत्रमा फुटबलमा दीर्घ योगदान पु¥याउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चम्किएका स्थानीय खेलाडीलाई समेत सम्मान प्रदान गरिने तयारी भएको आयोजकले जानकारी दियो।
विगत केही वर्षदेखि रोकिएको गछिया फुटबल प्रतियोगितालाई यो वर्षदेखि निरन्तरता दिने लक्ष्यसहित गोल्डकप पुनः सुरु गरिएको गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बताए।
प्रतियोगिता सञ्चालनका लागि करिब २५ लाख रुपैयाँ लागत लाग्ने जनाउँदै आयोजकले विजेतालाई २ लाख १ हजार र उपविजेतालाई १ लाख १ हजार पुरस्कार प्रदान गरिने जनाएको छ। ‘म्यान अफ द सिरिज’ले २५ हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट डिफेन्स, फर्वार्ड, मिडफिल्डर, गोलकिपर र प्रशिक्षकलाई जनही ११ हजार प्रदान गरिने छ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई ५ हजार १ सय प्रदान गरिने पनि आयोजकले जनाएको छ।
प्रतिक्रिया