काठमाडौँ। नेकपा माओवादी केन्द्रको एकताविरुद्ध विद्रोह गर्दै नयाँ राजनीतिक यात्रा सुरु गरेका पूर्वउपमहासचिव जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को घोषणा सभामा पार्टीभित्रका ’मठाधीशहरूको धूपबत्ति’ गर्न छाडेको बताएका छन्। आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमलाई संबोधन गर्दै शर्माले यो एकतालाई सामन्तवादी शक्तिहरूविरुद्धको नयाँ संघर्षको प्रतीक ठहराए।
’सामन्तवादको सिंहासन भत्काएर लोकतान्त्रिक गणतन्त्र निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ति गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौं,’ उनले भने ।
शर्माले कार्यक्रममै पार्टीको घोषणापत्र पढेर सुनाए, जसमा भ्रष्टाचारविरोधी जेनजेड आन्दोलनको भावनालाई आत्मसात् गर्दै राष्ट्रिय पुनर्संरचना, सुशासन र प्रगतिशील वाम एकताको जोड दिइएको छ । यो एकतामा नेसपा (नयाँ शक्ति) को नेतृत्वमा रहेका दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराती र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार समूह सामेल छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संरक्षकको भूमिकामा रहने अपेक्षा गरिएको छ । पार्टीको चुनाव चिन्ह नेसपाले प्रयोग गरेको ’आँखा’ रहने र ७ सदस्यीय अध्यक्ष मण्डलले नेतृत्व गर्ने सहमति भएको छ।
प्रचण्डको नेतृत्वमा माओवादी केन्द्रले एकीकृत समाजवादीसहितका १० वाम दलसँग नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन गर्ने निर्णय गरेपछि शर्मासहितका असन्तुष्ट नेताहरूले पार्टी त्यागेका थिए । महाधिवेशन तयारीकै बीच एकता प्रक्रियालाई ’स्वार्थपूर्ण र जेनजेड आन्दोलनविपरीत’ भन्दै शर्माले १८ कात्तिकमा प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए।
कार्यक्रममा परियारले रास्वपा छाड्ने कारणलाई ’राष्ट्रिय संकट सामना गर्ने वैकल्पिक शक्तिको आवश्यकता’ भने, भने किरातीले यो एकतालाई ’वामलोकतान्त्रिक ध्रुवीकरणको नयाँ अध्याय’ को संज्ञा दिए । एकतापछि पार्टीले निर्वाचन आयोगमा दर्ता प्रक्रिया तीव्र पार्ने र आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुने योजना छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार, यो एकताले ओली–प्रचण्ड–माधवविहीन वाम शक्तिको नयाँ धारा निर्माण गर्ने सम्भावना बोकेको छ ।
प्रतिक्रिया