इटहरी । सुनसरीको इटहरी-१४ का मोहन सरदार घर बनाउने मिस्त्री काम गर्थे। गत भदौ २३ गते उनलाई जेनजी आन्दोलनबारे खासै जानकारी थिएन। गाउँकै श्रवण सरदारसँग बजार जाने निधो गरे।
त्यतिबेला मोहन घर बनाउने क्रममा खुट्टामा चोट लागेर केही दिनदेखि घरमै आराम गरेर बसिरहेका थिए। श्रीमती मञ्जुलाई बजार पनि जाने अनि खुट्टा पनि सामुदायिक स्वास्थ्य केन्द्रमा देखाएर एकछिनमा फर्किन्छु भनेर उनी घरबाट निस्किएका थिए।
तर साँझ अबेरसम्म पनि सरदार नफिर्किएपछि श्रीमती मञ्जुले सँगै गएका श्रवणलाई सोधिन्। जवाफमा उनले दिउँसै छुटिएको र पछि खोज्दा आफूले फेला पार्न नसकेको बताए।
श्रवणले भने, ‘खै मोहन त कता जानुभयो, बजारमा आन्दोलन रहेछ, त्यो भिडभाडमा हामी छुट्टियौँ, पछि सम्पर्क हुन सकेन।’ श्रवणका कुराले मञ्जुको मनमा चिसो पस्यो। अनि फोन लगाउन थालिन्। तर मोहनको फोन ‘स्विच अफ’ भन्यो।
अनि उनले आफन्त र गाउँका सबैलाई हारगुहार गरिन्। सबैले आइहाल्छन् नि भन्ने जवाफ दिए। यसपछि मञ्जुले राति अबेरसम्म धैर्य गरिन्। यसबीच उनले बेलाबेला फेसबुक खोलेर हेरिन्। अनि देखिन्- आफ्ना श्रीमान् गोली लागेर ढल्दै गरेको भिडियो। मञ्जु बेहोस भइन्।त्यसपछि आफन्तले सम्झाएपछि केही समयपछि होसमा आइन्।
यसपछि गाउँका सबै जना मोहनको खोजतलासमा लागे। यसैबीच मोहनको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखेको सूचना प्राप्त भयो। आफन्त लिएर भोलिपल्ट मञ्जु त्यहाँ गइन्।
८ वर्षअघि सुनसरी रामधुनी-८ कै मोहनसँग विवाह गरेकी मञ्जुलाई श्रीमान् गुमाउँदाको पीडाले धेरै दिनसम्म सम्हालिन गाह्रो भयो। त्यसो त अहिले पनि पतिको नाम लिनासाथ उनका आँखाबाट आँसु झर्छ। उनी भक्कानिन्छिन्।
प्रेम विवाह गरेका उनीहरूका ५ वर्ष र ७ वर्षका दुई छोरी छन्। घर बनाउने क्रममै उनीहरूबीच चिनजान भएको थियो। अनि मन्दिरमा गएर विवाह गरेका थिए।
‘सँगै मर्ने अनि सँगै बाँच्ने कसम खाएर प्रेम सम्बन्धमा बाँधिएका थियौँ, तर श्रीमान्को अल्पआयुमै मृत्यु हुँदा सारै गाह्रो भएको छ’, २७ वर्षे मञ्जुले भनिन्, ‘सानी छोरी आकृतिले बारम्बार बाको कुरा निकाल्छिन्। उनले बाबाको कुरा निकाल्दा कसरी सम्झाउनु गाह्रो हुन्छ।’
छोरीलाई मोहन विदेश गएको भनेर ढाँटिएको छ। अब कतिञ्जेल ढाट्ने? उनले भनिन्, ‘छोरी आकृतिले पनि विश्वास गरेकी छन्। कुनै दिन वास्तविकता थाहा पाउँदा छोरीलाई कस्तो पीडा होला?’ मञ्जु दुई वर्षसम्म कुवेत बसेर फर्किएकी हुन्।
‘छोरीलाई ममी आउनु भो, अनि बाबा जानु भो, भन्ने विश्वास छ’, मञ्जुले भनिन्। सात वर्षकी जेठी छोरी आरबीलाई भने बाबुको निधन भएको थाहा छ।
मञ्जुले कुवेत गएर कमाएको र मोहनले मिस्त्री गरेर जोहो गरेको पैसाले ऐलानी जग्गामा एउटा सामान्य घर बनाइएको छ। उनीहरूको घर व्यवहार जसोतसो चलिरहेको थियो। अब भने समस्या निम्तिएको छ।
‘अब मैले छोरीहरूलाई कसरी पाल्नु? मलाई जहिल्यै यही कुराले पिरोल्ने गर्छ’, मञ्जुले भनिन्। उनी अहिले प्रधानमन्त्री सुशीला कार्कीले जागिर दिने वचन दिएकाले त्यही आशमा छिन्।
तिहारअघि जेनजीले काठमाडौँमा आयोजना गरेको भेलामा झापाबाट जेनजी अगुवा अञ्जु राईले मञ्जुलाई पनि लिएर गएकी थिइन्।
त्यो भेला सकेर जेनजीकै अगुवाइमा प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका क्रममा मारिएका तथा घाइते भएकाहरूका परिवार/आफन्तलाई भेट गराइएको थियो। त्यही बेला प्रधानमन्त्री कार्कीले योग्यताअनुसारको जागिर लगाइदिने वचन दिएको मञ्जु सुनाउँछिन्।
‘प्रधानमन्त्रीले जागिर लगाइदिन्छु भन्नुभएको छ, अहिलेसम्म आश गरेर बसेको छु’, मञ्जुले भनिन्, ‘अहिलेसम्म त काम खोज्न पनि गएको छैन, प्रधानमन्त्रीकै आशमा छु।’
काम नगरीकन बिहान-बेलुकाको गर्जो टार्न नै समस्या भइरहेको सुनाउँदै उनले आफ्नो क्षमताअनुसार जे काम पाए पनि गर्ने बताइन्।
‘कुवेतमा पनि दुःखै गरेर आएको हो, काम गर्न कुनै समस्या छैन’, उद्योगी तथा व्यवसायीलाई आग्रह मञ्ज भन्छिन्, ‘मेरा छोरीहरूका लागि मलाई सानोतिनो भए पनि काम दिनुहोस्।’
उनलाई सरकारले १५ लाख रुपैयाँ उपलब्ध गराइसकेको छ। गृह मन्त्रालयमार्फत उनलाई क्षतिपूर्तिबापत रु १० लाख र काजकिरिया तथा अन्य खर्चका लागि ५ लाख उनलाई दिइएको हो।
जेनजी आन्दोलनका क्रममा मारिएकाका परिवारलाई कोसी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाले पनि राहत रकम दिने निर्णय गरेको छ। तर अहिलेसम्म उपलब्ध गराइसकेको छैन।
सरकारले दिएको पैसा काजकिरिया खर्च गरेर बचेको रकम सबै छोरीहरूको भविष्यका लागि बचत गरेर राखेको मञ्जुले बताइन्।उनी भन्छिन्, ‘जस्तोसुकै कठिन संघर्ष गर्न परे पनि छोरीहरूलाई कुनै अभाव हुन दिने छैन।’
आफ्नो आर्थिक अवस्था कमजोर भएकैले गर्दा घटनापछि छोरीहरूलाई दाताकै सहयोगमा इटहरीकै मेरिल्यान्ड बोर्डिङ स्कुलमा पढाइरहेको उनले सुनाइन्।
जेनजीको आन्दोलनको पहिलो दिन भदौ २३ गते नै इटहरीमा मोहनसहित दुई जना मारिएका थिए। त्यतिबेला प्रहरीको गोली लागेर उनीसँगै इनरुवा-६ घर भई इटहरीस्थित आफन्तको घरमा बस्ने १६ वर्षका अभिषेक श्रेष्ठ पनि मारिएका थिए।
प्रतिक्रिया